एनआरएनएका २० देशका राष्ट्रिय समन्वय परिषद निस्क्रिय , ६० देशमा निर्वाचन सम्पन्न, ४ देशमा चुनाव हुन बाँकी

नेदरल्याड्स,  आगामी बर्ष २०२१-२३ कार्यकालको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तगर्तका विभिन्न ६० देशका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न भएको छ । संघमा महासचिव डा. हेमराज शर्माले एक संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै जानकारी गराएका हुन् |

डा. शर्माको प्रदिवेदन अनुसार निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषदमा निर्विरोध निर्वाचन भएको छ भने ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाईनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषदमा भौतिक रूपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको उल्लेख छ।

डा. शर्माले हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ मुलुकमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् रहेका र तीमध्ये विभिन्न कारणवस २० वटा राष्ट्रिय समन्वय परिषद लामो समयदेखि निष्क्रिय रहेको प्रतिवेदनमा उल्लेख गरेका छन्।

अब विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषदहरुमा निर्वाचन हुन बाँकी छ। राष्ट्रिय समन्वय परिषद् यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन। त्यसलाई छिटै समाधान गरेर निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको छ। यूएईबाहेक राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलमा (केही क्षेत्रमा स्थगित) निर्वाचन ८ अगष्टमा र राष्ट्रिय समन्वय परिषद् स्लोभानियाको निर्वाचन १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको डा. शर्माको प्रतिवेदनमा उ़ल्लेख गरिएको छ।

आगामी २०२१–२३ को कार्यकालको लागि विश्वका विभिन्न मुलुकमा रहेको १ लाख भन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिइसकेका र आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद्ले यही १५ अगष्टभित्र प्रतिनिधिहरुको नामावली संघको (विधानमा व्यवस्था भए बमोजिम) पठाउनु पर्ने डा. शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

डा. शर्माको प्रतिवेदन अनुसार राष्ट्रिय समन्वय परिषद्हरुका निर्वाचन सम्बन्धि विवरण क्षेत्रगत रुपमा निम्नानुसार छन् ।

१. अफ्रिका क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाईजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: लेसोथो, लिविया, मालावी, दक्षिण सुडान

२. अमेरिकाज् क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : मेक्सिको र कोस्टारिका
अनलाइन : चिली र अमेरिका
भौतिक : क्यानाडा
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: ब्राजिल

३. एसिया प्रशान्त क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाईल्याण्ड र भियतनाम ।
अनलाइन : चीन, जापान र दक्षिण कोरिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु : ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया

४. यूरोप क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : बेलारुस, चेक–रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्वीट्जरल्याण्ड
अनलाइन : साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूके
भौतिक : अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगल
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: बुल्गेरिया, ग्रिस, हंगेरी, रोमानिया, यूक्रेन

५. मध्यपूर्व क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : कुवेत, ओमान र कतार
अनलाइन : बहराइन र साउदी अरेबिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: इजिप्ट, इराक, जोर्डन, लेबनान, यमन

६. ओसेनिया क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : पपुवा न्यूगिनी र न्यूजिल्याण्ड
अनलाइन : अष्ट्रेलिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्: भानुआटु

Share