गैर आवासीय नेपाली संघको शाख जोगाउन सबैले आत्मालोचना गर्दै एकताको अधिवेशननै आजको आवश्यकता हो :- अभियन्ता गौतम

बेल्जियम ।

गैर आवासीय नेपाली संघका अभियन्ता साथै नेपाली कांग्रेसका नेता साथै  प्रवासमा रहेर प्रखर वक्ताको पहिचान बनाएका बेल्जियम निवासी गंगाधर गौतमले पछिल्लो समयमा सर्वोच्च अदालतले गरेको फैसलाले नयाँ मोड लिएको बताएका छन् ।

उनले एक बिज्ञप्ति प्रकाशित गर्दै गैर आवासीय नेपाली संघको दशौं र एघारौ अन्तर्राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेपालको सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै गैर आवासीय नेपाली संघको साख,संस्थाप्रतिको हेर्ने दृष्टिकोण अत्यन्तै नकारात्मक हुदै गएको आजको परिस्थीतिमा सबै कुराहरुमा आत्मसमिक्षा साथै आत्मआलोचना गर्दै आगामी एकताको महाधिवेशनको लागि संसार भरिका नेपालीहरु फेरी एकपटक एकतावद्ध हुनुपर्ने यस संघारमा हामी तमाम गैर आवासीय नेपालीहरुले यसलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

बिज्ञप्ति
गैर आवासीय नेपाली संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेपालको सम्मानीत सर्वोच्च अदालतले हिजोमात्रै एक फैसला गरेको छ । जसका कारण गैर आवासीय नेपाली संघको फरक फरक मिति र स्थानमा गरेका दुवै महाधिवेशनलाई खारेज गरेको छ भने तत्कालिन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको संघको ८१ औं वैठकले निर्माण गरेको उच्चस्तरीय अनुगमन समितिका संयोजक डा शेष घलेको संयोजकत्वमा संस्थापकदेखि पूर्व अध्यक्षहरु रहने समिति गठन गर्ने र दुवै तर्फ अधिवेशनका क्रममा तीन जना अध्यक्ष भनिएका कुल आचार्य, रविना थापा र डा. बद्री केसी र अर्को तर्फबाट बिनोद कुँवर, जानकी गुरुङ र उमेश पुडासैनीलाई उक्त समितिमा समायोजन गर्दै महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने जिम्मेवारी सुम्पिएको छ जुन स्वागत योग्य छ।
यस्तो परिस्थितिमा गैर आवासीय नेपाली संघको एक अभियन्ताको हिसाबले यो निर्णय पछि र यो निर्णयका कारण गैर आवासीय नेपाली संघमा पुगेको क्षति र अहिलेको परिस्थीतिका बारेमा आफ्ना धारणाहरु स्पष्ट पार्नु पर्ने देखेको छु। । गैर आवासीय नेपाली संघको दशौं महाधिवेशनमा सहमतिका लागि संस्थापक अध्यक्षदेखि तत्कालिन अध्यक्षसम्मले अध्यक्षत्रयको व्यवस्था गरेर ११ औं महाधिवेशनको सुनिश्चितताका लागि स्वतन्त्र, निष्पक्ष निर्वाचनको प्रत्याभुतिका लागि जुन जिम्मेवारी दिइएको थियो तत्कालिन नेतृत्वमा रहेका तीन जना अध्यक्षले आफ्नो १८ महिनाको कार्यकाल सर्वसम्मतरुपमा सम्पन्न गर्ने सुअवसर प्राप्त गर्नु भएको थियो । अध्यक्षहरु कुल आचार्य र रविना थापाले आफ्नो कार्यकारी भूमिकामा रहँदा संघका सवै गतिविधिहरुलाई आम सहमतिमा सुल्झाउने, सल्टाउने र समापन गर्ने प्रयत्न गर्नुभयो र सफल हुनुभयो ।

कार्यकालको अन्तिम चरणमा डा. वद्री केसी कार्यकारी अध्यक्ष बनेपछि संघका गतिविधिहरु र संघको निर्वाचन प्रक्रिया र निर्वाचन परिस्थीतिलाई समेत प्रतिकुलरुपमा लैजानका लागि उहाँले आफ्नो कार्यकारी पदको पूरै दुरुपयोग गरेको कुरा छर्लंगै देखिएको छ । जसका कारण निर्वाचनमा भेरो अनलाइन भोटिङमार्फत भएका त्रुटिका र धाँधलीका कारण नेपाल सरकारको सीआइबी र मन्त्रिपरिषद्को सिफारिसमा बनेको छानविन समितिले उक्त निर्वाचनमा भएको त्रुटिलाई प्रमाणीत गरिसक्दा पनि तत्कालिन अवस्थामा आफैले आफैलाई अध्यक्ष घोषणा गरेका वद्री केसी र उहाँको टिमले गैर आवासीय नेपाली संघको एकता र आवश्यकतालाई कहीकतै पनि नजर अन्दाज गर्नुभएन । जसका कारण गैर आवासीय नेपाली संघको इतिहासमा फेरि गएका यी तीन वर्ष तमाम गैर आवासीय नेपालीहरुले यो समयमा गरेको आफ्नो योगदान सबै कुरा ड्यामेज भएको छ । यसको सम्पूर्ण जिम्मेवारी तत्कालिन ११ औं महाधिवेशनको कार्यकारी अध्यक्षका हिसावले डा. वद्री केसी र उहाँसँग संलग्न टिमले लिनुपर्दछ ।

अर्कोतर्फ गैर आवासीय नेपाली संघको आगामी महाधिवेशनको यस संघारमा हामी तमाम गैर आवासीय नेपालीहरुले यसलाई अवसरको रुपमा लिनुपर्छ । हाम्रा अगाडि चुनौतीहरु पनि छन् र ती चुनौतीहरुलाई अवसरको रुपमा परिणत गर्नु पर्ने हुन्छ । त्यो अवसर भनेको गैर आवासीय नेपाली संघको साख, हाम्रो संस्थाप्रतिको हेर्ने दृष्टिकोण अत्यन्तै नकारात्मक हुदै गएको आजको परिस्थीतिमा सबै कुराहरुमा आत्मसमिक्षा गर्दै आत्मआलोचना गर्दै एकताको महाधिवेशनका लागि संसारभर रहेका नेपालीहरुसँग हामी फेरि एक पटक जानु पर्ने हुन्छ । आजको आवश्यकता भनेको सहमति, सहकार्य र एकता हो । त्यो भनेको जुन जुन व्यक्ति, जुन जुन तह र तप्काले एनआरएनएको यो परिस्थिति उत्पन्न हुनका लागि बढी काम गर्नुभयो, ती जिम्मेवार व्यक्तिले एक पटक गैर आवासीय नेपालीहरुसँग क्षमायाचना गर्नुपर्छ । संस्थालाई प्राविधिक रुपमा कब्जा गर्न सचिवालय, समेत चरम दुरुपयोग गरेर निर्वाचन समिति, आइटी र सिङ्गो कर्मचारी संयन्त्रको दुरुपयोग गरेको समेत कार्यकारीका हिसाबले जिम्मेवारी लिनु पर्छ। यसबीचमा धेरै आर्थिक अपचलन र अपारदर्शीताहरु र संघको सम्पत्तिका बारेमा पनि धेरै कुराको छानविन गर्नु पर्ने अवस्था सिर्जना भएको हुँदा यसका लागि उच्चस्तरीय समितिमार्फत यो तीन वर्षको बीचका अपारदर्शी खर्चका हिसावहरु नेपाल सरकारको निकायमार्फत अडिट गरेर अघि जानु पर्ने अवस्था छ ।
संघमा भएको अनियमितता छानबिन गर्न समिति गठन गर्नु हुने तत्कालीन नेपाल सरकार छानबिन समितिका सम्पूर्ण पदाधिकारीहरु, सीआइबी, राजनीतिक दलहरु, नेपाल सरकार लगायत सम्बन्धित सबैलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं। यो अभियानमा ऐक्यबद्धता जनाउने सबै एनआरएनए एनसीसी हरुलाई आभार प्रकट गर्दछु। आगामी दिनमा पनि तपाईंहरुसंग सरसल्लाह गरेरै अगाडी बढ्ने छौं। म पुनः एक पटक गैर आवासीय नेपाली संघको एकताको महाधिवेशन गर्न जिम्मेवारी पाउनु भएका पूर्व संरक्षक डा. शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त लगायत उक्त समितिमा रहेका अन्य ६ जनालाई पनि यो तपाईंहरुले पाएको भूमिका र जिम्मेवारी सफल गर्नको लागि तपाईंहरुले आजकै दिनबाट आफ्नो कार्यदिशामा अगाडि बढ्नको लागि अनुरोध गर्दै यहाँहरुलाई सफलता मिलोस् र एनआरएनलाई सवै आम गैर आवासीय नेपालीको साझा संस्था बनाउनमा तपाईंहरुले ल्याएको कार्यनीति र अवलम्बन गरेका बाटोहरुबाट नयाँ दिशावोध हुने छन् भन्नेमा आशावादी हुँदै कुनै क्षेत्र वा विषयमा एनआरएनको एकता महाधिवेशन गराउने कुराको सहजीकरण गर्नका लागि म सधै प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु ।
गंगाधर गौतम, बेल्जियम ।
जय नेपाल । जय एनआरएन ।

Share