पत्रकार महासंघ युरोप शाखाले ९९औं श्रृंखलामा माल्टाका नेपालीहरुको समस्या र समाधानका बारेमा गर्यो संवाद ।

युरोप  ।

नेपाल पत्रकार महासंघ युरोप शाखाले नियमित रुपमा संचालन गर्दै आएको संवाद कार्यक्रमको ९९ औं श्रृंखला माल्टामा सम्पन्न भएको छ । प्रवासी नेपालीले भोग्दै आएका समस्याका बारेमा सरोकारवाला निकायलाई समस्या समाधानमा जिम्मेवार बनाउँदै आएको नेपाल पत्रकार महासंघ युरोपको माल्टा विशेष ९९ औं श्रृंखला भर्चुअल मार्फत माल्टामा सम्पन्न भएको हो ।

माल्टा विशेष संवाद कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स), नेपाली जनसम्पर्क समिति माल्टाका सभापति हरिप्रकाश विश्वकर्मा, नेपाली जनप्रगतिशील मंच माल्टाका अध्यक्ष विनय बुढाथोकी र प्रवासी नेपाली सम्पर्क विभागका सभापति राजेन्द्र भण्डारीसंग नेपाल पत्रकार महासंघ युरोपको टोलीले संवाद गरेको थियो । नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई,उपाध्यक्ष द्रोण रिजाल, महासचिव शेरबहादुर परियार, कार्यसमिति सदस्य क्रमशः धनराज विक (अविरल(, अमृता राई, मुना सुनुवार र जनक बराल ,भरत प्रधान लगायत सामुहिकरुपमा संवाद कार्यक्रमका अतिथिहरुलाई प्रश्न गरेका थिए भने वक्ताहरुले प्रश्नको रोचक तरिकाले जवाफ दिएका थिए । नेपाल पत्रकार महासंघ युरोपका महासचिव परियारले संवाद कार्यक्रमको संचालन गरेका थिए भने महासंघका अध्यक्ष राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संवाद कार्यक्रमका वक्ताहरुसंग संवादको सहजीकरण गरेका थिए ।

अध्यक्ष  राईले सुरुमा एनआरएनए माल्टाका अध्यक्ष रेमलाल (खनाल) लाई माल्टामा प्रवासी नेपालीहरुको अवस्था कस्तो छ भनेर प्रश्न गरेका थिए । जवाफमा खनालले पछिल्लो समयमा माल्टा सरकारले लागू गरेको स्किल कार्डको नियमले नेपालीहरु समस्यामा परेको र दिनहुँ माल्टाबाट नेपालीहरु युरोपको अन्य देशमा जाने गरेको बताएका थिए । माल्टामा कुटनितिक नियोग नहुँदा रोजगारको सिलसिलामा माल्टामा आएका प्रवासी नेपालीहरुले धेरै समस्या भोग्ने गरेको बताउँदै समस्या समाधानमा माल्टा सरकारसंग समन्वय गर्ने काम एनआरएनएले गर्दै आएको खनालले बताए । प्रवासी नेपालीहरुका गुनासो एनआरएनए माल्टाले सुन्दै आएको र समस्या समाधानमा सकेको सहयोग गर्ने गरेको उनले बताएका थिए । नेपाली जनप्रगतिशील मंच माल्टाका अध्यक्ष बुढाथोकीले माल्टामा तत्काल अवसर भन्दा चुनौतीहरु धेरै देखिएकोले यसतर्फ रोजगारीको लागि माल्टा आउन चाहानेहरुले सचेत हुनुपर्ने बताएका थिए । भाषा र सीप नभएकाहरुले ठूलो रकम लगानी गरेर अहिले रोजगारीको लागि माल्टा नआउन समेत उनले आग्रह गरेका थिए । माल्टामा लागू भएको नयाँ नियमले समस्या उत्पन्न भएको र माल्टामा आएका नेपालीहरु पनि अहिले समस्यामा रहेको बुढाथोकीले बताए । कानूनी सहायता आवश्यक परेका नेपालीहरुलाई आफूले माल्टामा सहयोग गर्दै आएको भन्दै कसैलाई कानूनी सहयोग चाहिएमा आफू सहयोग गर्न तयार समेत रहेको उनले बताएका थिए । नेपालमा रोजगारीको सिर्जना गरी विदेश बाहिरिने युवाहरुलाई नेपाल सरकारले रोक्नुपर्ने धारणा समेत उनले राखेका थिए । नेपाल पत्रकार महासंघ युरोप शाखाले राम्रो कार्यक्रमको थालनी गरेकोमा बुढाथोकीले धन्यवाद समेत दिएका थिए ।

प्रवासी नेपाली सम्पर्क विभागका सभापति राजेन्द्र भण्डारीले माल्टामा पासपोर्ट राहदानी नवीकरण गर्न समस्या भएको भन्दै स्पेन गएर नवीकरण गर्दा ठूलो रकम खर्च हुने गरेको बताए । माल्टामा कोही नेपालीको अकालमा ज्यान गयो भने शवको व्यवस्थापन गर्न माल्टामा समस्या रहेको भन्दै नेपाल शव पठाउन धेरै खर्च लाग्ने समस्या भोग्नु परेको उनले बताए । अहिले माल्टा सरकारले सुरु गरेको स्किल कार्ड पास गर्न सके धेरै राम्रो सम्भावना पनि माल्टामा रहेको भण्डारीले बताए । तर नेपालीहरुमा भाषा र सीप नभएकै कारण समस्या देखिने गरेको उनी बताउँछन् । पत्रकारका कारण सबै सचेत भई जिम्मेवार बन्ने र समस्या समाधानमा सहयोग पुग्ने भएकोले नेपाल पत्रकार महासंघ युरोप शाखाले नियमित रुपमा संचालन गर्दै आएको संवाद कार्यक्रमको भण्डारीले प्रशंसा गरेका थिए । नेपाली जनसम्पर्क समिति माल्टाका सभापति विश्वकर्माले प्रवासी नेपालीका समस्या समाधानमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए । पछिल्लो समयमा विदेशिने नेपालीको संख्या बढ्दै गएको र विदेशमा पनि काम नपाउने समस्या रहेकोले यसतर्फ सबैको समयमै ध्यान जानुपर्ने बताएका थिए । नेपाल सरकारले युवालाई स्वदेशमै सम्भावना देखाउँदै विदेश पलायन हुनबाट रोक्नु पर्ने बताएका थिए ।

Share