एनआरएनएको लडाईं जुँगाको कि घमण्डको ?

-रबि  ॐ, अस्ट्रिया |
सामान्य एनआरएनलाई संस्था भित्र के भईरहेको छ भन्ने विषय पत्रपत्रिकाले जे छाप्यो त्यहि बुझ्ने हो । सबैको सबैसंग संपर्क हुँदैन । मिडियाले अगाडी जे ल्याउँँछ त्यही पत्याउने न हो । त्यसमा पनि एनआरएनएका विषयमा लेख्नेहरु कुनै न कुनै नेतृत्वको गुलामी गर्नुपर्ने विविध  कारण भएकाले निष्पक्ष कलम हत्तपत्त चल्दैन । भूकम्पले आधा पाटो झारेको घरलाई टालटुल गरेर थामो राखेर जोगाएको घरजस्तै हो यतिखेरको एनआरएनए । केहि मिडियाहरुले एकताको संदेश दिईरहेका छन् । संस्था फेरि पहिलेजस्तै मजबुद भएको झैं गरेर खुसियाली मनाईरहेका छन् । तर संस्था वास्तवमानै गहिरो खाडलमा जाकिएको छ । पदलोभी र मानव तस्करहरुको मोलमोलाईमा गर्ल्याम्म हुनलागेको संस्थालाई थामो राखेर कतिन्जेल थाम्ला र ?
संस्था गर्ल्याम्म पारेर भगनाबशेष पार्न कस्सिएका व्यक्तिहरुलाई ललिपल देखाएर कतिन्जेल हुन्छ ? यिनलाई न लाज छ न शरम । तर यसपटक भनिएको सहमती वा एकताले पटक्कै शुभ संकेत दिएको छैन । यसले ठूलो दुर्घटनाको संकेत गरिसकेको छ। संस्था टुट्नु दुर्घटना भन्न खोजेको होईन । त्यो त भई नै सक्यो र त्यो दुर्घटना विदेशमा बस्ने नेपालीहरुलाई मात्रै नभएर नेपालमा रहनेलाई समेत गंभिर असर पार्नेछ । आज नेतृत्वमा जतिपनि तछाडमछाड छ त्यो सबैको कारणको सुरुवात शेष घलेले ल्याएको “भिजन ट्वाण्टी ट्वाण्टी” हो । वास्तवमा “भिजन ट्वाण्टी ट्वाण्टी” लाई उपेन्द्र महतोले मन नपराएको मात्रै होईन, शेष घलेलाई अभियान बाटै अलग्याउन आवस्यक ठाने र एनआरएनएमा डरलाग्दोगरी जुँगाको लडाईं सुरु भयो । कतै उपेन्द्र महतो भन्दा शेष घले माथी पर्ने त होईनन् भन्ने हाउगुजीले संस्था डुब्यो ।
एनआरएनएलाई नेपालमा जनस्तरमा समेत चिनाउने शेष घले हुन् । गाऊका मेरा एकजना काका अझैपनि एनआरएनएका अध्यक्ष शेष घले नै हुन् भन्छन् । अरुलाई त कसैले चिनेकै छैनन् । नेपालमा मात्रै नभएर शेष घलेको पालामा परदेसमा पनि एनआरएनएको शाख बढेको थियो । विभिन्न योजनाहरु आउन थालेका थिए । संस्थालाई संयुक्त राष्ट्रसंघको मोडलमा अगाडी लैजाने तयारी भएको थियो । तर बिडम्बना संगसंगै बढेको थियो उनको घमण्ड । एनआरएनएका भिष्मपितामह त्यो मन परेको थिएन । “भिजन ट्वाण्टी ट्वाण्टी” लाई पुरै अस्वीकार गर्दा पनि शेष घलेको अपमान हुने, स्वीकार गरे उपेन्द्र महतोको अपमान हुने । त्यो घमासान शित युद्धमा एनआरएनएका नेतृत्वको वर्ष बितेका थिए । “भिजन ट्वाण्टी ट्वाण्टी”लाई ५० प्रतिशत परिवर्तन गरेर लागुगर्ने सर्तमा कुरा मिल्यो तर मनमुटाव दुईगुणा भईसकेको थियो । त्यसपछि आएको “भिजन ट्वाण्टी ट्वाण्टी” शेष घलेको ओरिजिनल “भिजन ट्वाण्टी ट्वाण्टी” थिएन ।
परिमार्जित “भिजन ट्वाण्टी ट्वाण्टी” पारित गर्दैगर्दा शेष घलेको ४ वर्ष वित्यो तर सपना अधुरै थियो । लाप्राक परियोजना, एनआरएनए भवन, भिजन ट्वाण्टी ट्वाण्टी जस्ता थुप्रैकाम बांकी थियो । आफ्नो अधुरो काम पुरा गर्न उनले श्रीमती जमुना घलेलाई अगाडि सारे । सोचे, मैले पाएको हाईहाईले पक्कै काम गर्नेछ । तर एनआरएनएका भिष्मपितामहले मौका कुरेर बसेका थिए । निर्वाचनमा भोट गन्दागन्दै भाग्नपर्ने अवस्था आईलाग्यो घले दम्पतीलाई । भवन भट्ट्संग त्यति लज्जास्पद हार होला भनेर कसैले सोचेका पनि थिएनन् । घलेले आफूले पाएको हाईहाई मात्रै देखे । आफ्नो घमण्डले जन्मिएका एउटै मञ्चमा बसेर संस्था चलाईरहेका मित्रहरुका बगलीमा राखिएका छुरा देखेनन् । शेष घले र उनका पालामा रहेका तत्कालिन महासचिव बद्री केसीसंगको संवन्ध पनि नराम्ररी बिग्रिएको थियो । संवन्ध बिग्रिएर यतिसम्म भयो कि एकले अर्कोको अस्तित्व नै स्वीकार गर्न नसक्ने अवस्था थियो र अझै छ । त्यो फाईदा कुल आचार्यले यसपटक र अघिल्लो निर्वाचनमा लिने प्रयास गरे तर सकेनन् उल्टो घलेलाई उल्लु बनाएर अर्को पाखातिर फड्किएर गए । जसरी फट्याङ्ग्रा उफ्रन्छ त्यसैगरी उफ्रिएर एउटा पाखाबाट अर्को पाखातिर लागे। कुल आचार्यसंगै उफ्रिने परजिवि फट्याङ्ग्राहरु देख्दा एनआरएनएको जात्रा अझ रहस्यमय र डरलाग्दो बन्दै गईरहेको देखिन्छ ।
कुल आचार्यको महत्वाकांक्षा
मैत्री संवन्ध र मीठो बोलीका धनी कुल आचार्य कुमार पन्तसंग निर्वाचनमा होमिएका बेलामा नेपाली कांग्रेसका एकलौटी संभावना बनेपछि उनमा नपच्नेगरी महत्वाकांक्षा बढेर आउनु पनि एनआरएनएको दुर्घटना अवश्यम्भावी बनीसकेको थियो । युरोप संयोजक भएपछि उनले सिधै उपाध्यक्षमा उम्मेदवारी दिए र जिते । त्यो सम्म त ठीकै थियो उनले दाउपेच गरेरै भएपनि छिट्टै अध्यक्ष खाने र उपाध्यक्षमा दोहोर्याउन आवस्यक ठानेनन् । राजनीति ओतप्रोत, पूर्व अध्यक्षहरु बिचको चिसो संवन्धमा खेलेर जित्नसक्छु भन्ने घमण्डले अहिले आएर बेसरी पछारिएका छन् । सामाजिक सेवाको यात्रामा ‘हाई-स्पीड’मा दगुरेपछि दुर्घटना अवश्यम्भावी थियो । यतिखेर उनलाई आफ्नै समूहबाट आएका प्रश्नहरुको उत्तर दिन समेत सकिरहेका छैनन् । तर यिनको महत्वाकांक्षा भने अझै मरिसकेको छैन । विद्रोहको प्रकृया फेरिएको हो, गति फेरिएको छैन । पदको लागि यिनले गरेको संझौता एनआरएनएमा यतिखेर सबैभन्दा ठूलो लाजको धब्बा बनेर बसेको छ । त्यो मेटाउन यिनले ठूलै मेहेनत गर्नुपर्छ ।
भाग्यमानी कुमार पन्त
कुनै दिन एनआरएनए जस्तो संस्थाको अध्यक्ष होलान् र जस्ता सामान्य स्वभावका कुमार पन्त, पूर्व अध्यक्षहरुको आशिर्वाद र तत्कालीन दुई तिहाईको सरकार नेकपाको केपी पक्षको सहायताले अध्यक्ष भएका व्यक्ति हुन् । एनआरएनएमा यिनको त्यस्तो पकड पनि थिएन न राजनैतिक पहुच नै । तरपनि निधारमा श्री लेखिएको भएपछि के लाग्छ र, थोरै मतान्तरले कुल आचार्यलाई पछारीदिए । त्यसमा पनि ६ महिना एनआरएनएको अध्यक्ष उपहार पाउने पहिलो भाग्यमानी अध्यक्ष हुन् । यद्यपि उनलाई यतिखेर संस्था विभाजन हुने डरले निन्द्रा नलागेको पक्कै हो । संस्था त विभाजन भईसकेको नै छ तरपनि पन्त यो दोषबाट मुक्त भएकाछन् । एनआरएनएको अध्यक्ष हुनेहरुमा यी भाग्यमानी अध्यक्षको रुपमा पछिसम्म चिनिनेछन् ।
हेमराज शर्मा र बद्री केसीको जोडी
आवस्यकता परेको बेलामा युद्धस्तरमा रातदिन नभनी दक्ष काम गर्न सक्ने एनआरएनएमा कोही छन् भने यी दुईको नाम लिए हुन्छ । तर विभिन्न दलीय गुटवन्दी र व्यक्तिगत मनमुटावका शुण्ड-मुशुण्डहरुले यिनीहरुलाई संगै काम गरेको देख्न सक्दैनन् त्यो एनआरएनएको बिडम्बना हो । कमिकमजोरी त सबैमा हुन्छ तर यी दुई मध्य एक अध्यक्ष र अर्को महासचिव हुने हो भने संस्थाले केही समयमा नसोचेको काचुली फेर्नसक्छ । यी दुबैको कार्य दक्षतामाथी घले समूह र महतो समूहले आफ्नो आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने र ब्रेक लगाउने प्रयास गरिएको प्रष्ट नै छ ।
जीबा लामिछाने ‘खोपिका देउता’
एनआरएनएका पूर्व अध्यक्ष जीबा लामिछाने रिसाएको सायद कमैले देखेका होलान् । यी रिसाए भने एनआरएनएमा भूईंचालो जान्छ । एनआरएनएमा जीबा खोपिका देउता जस्तै हुन् । हिजोआजको पदलुप्तहरुको चालचलनले निराश भएर त्यति सकृय नदेखिएपनि एनआरएनएमा सबैभन्दा शक्तिशाली यिनै खोपिका देउता नै हुन् । शेष घलेका घोर पक्ष र घोर विपक्षमा धेरेछन् । उपेन्द्र महतोका कुरा काट्ने पनि प्रशस्तै भेटिन्छन् तर जीबा लामिछानेका परम शत्रु झट्टै भेटिनन् या छँदै छैनन् । जस्तो कि उपेन्द्र महतोको जुन सरकार आएपनि मन्त्रीपरिषद् भित्र राम्रो पकट हुन्छ, शेष घले जनतामाझ सेलिब्रेटी जस्तै चर्चित् छन्, त्यस्तै एनआरएनए भित्र जतिपनि अभियान्ताहरु छन् ती सबैले जीबा लामिछानेलाई खोपिकै देवता जस्तो सम्मान गर्छन् । यिनको व्यक्तिगत आचरणको प्रभाव संस्थामा बेसरी छ । यिनी रिसाए भने संस्थामा संकट आउछ भनेर भन्छन् । किन हो त्यो थाहा छैन । केही उच्च तहका अभियान्ताहरु भन्छन्, जीबा लामिछानेको सिफारिसमा परेको व्यक्तिले चुनाब नजित्ने भन्ने नै हुँदैन ।
उपेन्द्र महतो र शेष घलेको टकराव
एनआरएनएमा को शक्तिशाली भन्ने विषय बाहिर नभएपनि उपेन्द्र महतो र शेष घले बिचमा यो शितयुद्ध चलेको धेरै भयो । यी दुईको टकरावले गर्दा पटकपटक एनआरएनएमा हलचल पैदा हुने गरेको छ । “भिजन ट्वाण्टी ट्वाण्टी” संगै त्यो शितयुद्ध सतह सम्मै आयो । कुल आचार्यले त्यसको फाइदा लुट्ने प्रयास गर्दा आफै चकनाचुर हुने अवस्थामा पुगेपछि संस्था जोगाउन भन्दै बाटो परिवर्तन गरे । त्यसकारण पूर्व अध्यक्षहरुको अधिकार कटौती गर्ने विषयमा कुराहरु उठ्न थालेकाछन् ।
राजनीति छिरेको कि छिराईएको ?
कुमार पन्त, कुल आचार्य, बद्री केसी रबिना थापाहरु लाई नेपालका नेताहरुले त्यति वास्ता नै गर्दैनन् । यिनीहरु कुनैको पनि त्यती ठूलो राजनैतिक हैसियत छैन । तर उपेन्द्र महतो तथा शेष घलेले चाहे भने तत्कालै कुनैपनि नेता मन्त्री तथा प्रधानमन्त्री भेट्न तथा कुरा राख्न सक्ने क्षमता राख्छन् । उनिहरुको नेपाली राजनीति क्षेत्रका सबै महत्वपूर्ण व्यक्तिहरुसंग धेरै नजिकको र विशेष संवन्ध छ र एकअर्काको आवस्यकता अनुसार प्रयोग गरिरहेका छन् । नेपालका नेताहरु एनआरएनएको विषयमा खासै जोडिन चाहने होईनन् । उनिहरुलाई हस्तक्षेप नगर्नु भन्दै आफ्नो आवस्यकता अनुसार वाध्यपार्दै राजनीति छिराउने घले र उपेन्द्र नै हुन् ।
शेष घलेको भावी योजना के होला ?
यदि कसैलाई लाग्ला शेष घलेको एनआरएनएमा अब कुनै जोडघटाउ चल्दैन भने त्यो ठूलो भ्रम हो । घलेको “भिजन ट्वाण्टी ट्वाण्टी” सुनेर किन तर्सिएका थिए उपेन्द्र महतो? ख्याल गर्नुहोला, घले वास्तवमा नै अद्भुत योजनाका साथ अगाडी आएका थिए । उनले संस्थालाई विश्वमा नै हाईहाई बनाउनसक्ने संभावना थियो । घलेको योजनालाई ब्रेक लगाउने महतो हुन् । किन कि उनि यो संस्थाको जन्मदाता हुन् र घले हिरो बनेको देख्न चाहेनन् । हुनत, सेलिब्रेटी बनेका घलेको घमण्डले पनि धर्ति छाडेको थियो । त्यो आफ्नै ठाउमा छ । सायद जमुना घलेले निर्वाचन जितेको भए यतिखेरसम्म घलेको चहलपहल राम्रै हुनेथियो । परिवर्तन पनि हुने थियो । तर संस्था जुंगाको लडाईंमा फस्यो न घलेले केहि गर्न सके न उपेन्द्रले घलेलाई स्वीकार्न सके । सुनिएको छ घलेले ल्याएको वास्तविक “भिजन ट्वाण्टी ट्वाण्टी” बाहिर नै आएको छैन । बाहिर आएको भनिएको “भिजन ट्वाण्टी ट्वाण्टी” परिमार्जित स्वरुप मात्रै हो । हुन त घलेको “भिजन ट्वाण्टी ट्वाण्टी” लेखिदिने अरु नै व्यक्ति थिए तर त्यो खुलाईएको छैन । उनले त्यो “भिजन ट्वाण्टी ट्वाण्टी” लेखाउन मात्रै ठूलो धनरासी खर्च गरेका थिए । शेष घलेलाई यतिखेर आदिबासी जनजातीहरुको संस्थाले सहयोग गर्ने देखिन्छ । यदि त्यसो भयो भने, अब यो जातीय समस्याका रुपमा अगाडी बढ्ने छ र घले फेरि उदाउने छन् ।
शेष घलेले कुल आचार्यलाई प्रयोग गर्न खोजेका थिए तर कुल आचार्यले चलाखी गरे र उल्टै घलेलाई खाल्टोमा हालेर आफू बाहिर निस्किए । यो घटनाले कुल आचार्यको सामाजिक यात्रा त करिबकरिब अन्त्य जस्तै भएको छ । तर शेष घलेको उदय फेरि हुन्छसक्छ । आशा गरौं पहिलेको जस्तो घमण्ड अबको यात्रामा देख्न नपरोस् ।
संस्थापक पक्षको महाधिवेशन पछि के होला ?
यसको भविश्य छैन । यतिखेर बिष र पानी एउटै बोतलमा छ, जसरी पिए पनि हुने मृत्यु नै हो । पदलुप्त, दलाल, तस्कर र केही विद्वान समाजसेवी सबैको खिचडी जस्तो भएको यो एनआरएनए अब मन मुटुबाट हटाएर चिन्तामुक्त हुनुमा नै सबैको भलाई छ । शुद्धिकरणको जति नै बहस गरेपनि पालना हुनसक्ने कुनै संभावनाको संकेत देखिएको छैन । यो भन्दा शेष घलेको चोईटिएको टुक्रा नै किन नहोस् शुद्ध र प्रभवकारी हुनसक्ने प्रवल संभावना छ । तर समयले जातीय विभेदको डरलाग्दो संकटको सामाना गर्न परेन भने शेष घले फेरि उदाउने छन् ।
-रबि  ॐ
पूर्व एनआरएनए अभियान्ता
Share