विभिन्न बिषयमा निर्णय गर्दै एनआरएनएको बैठक सम्पन्न, प्रवक्तामा जापानका सुबेदी चयन ।

काठमाण्डौं  ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठक जुम प्रविधिमार्फत जनवरी १ तारिख सोमबार विभिन्न बिषयमा निर्णय गर्दै सम्पन्न भएको छ । एनआरएनए आईसीसीअध्यक्ष आरके शर्माको अध्यक्षतामा बसेको बैठकमा पूर्वअध्यक्षद्वय कुल आचार्य र रविना थापाका साथै प्रमुख सल्लाहकार महेश श्रेष्ठ, पदाधिकारीहरू, आईसीसी सदस्यहरू, एनसीसीका प्रतितिधिहरुलगायतको उल्लेख्य सहभागिता रहेको थियो । आचार्य र शर्माले बैठकलाई सम्बोधन गर्दै संस्थालाई एकताबद्ध बनाउँदै अघि बढ्नुको विकल्प नभएको भन्दै यही कार्यसमितिले सबैलाई एक ठाउँमा ल्याउने उद्घोष गरे । 

नयाँ वर्ष २०२४ को अवसरमा शुभकामना आदानप्रदानका साथ सुरु भएको बैठकमा गत निर्वाचनका क्रममा डा.बद्री केसी पक्षले गरेको अनियमितताका सम्बन्धमा छलफल हुनुका साथै केसी निरन्तर संस्थाको दुरुपयोग गर्दै आएको विषयमा गम्भीर छलफल भएको छ ।  यस्तै परराष्ट्र मन्त्रालयसँग सहकार्य गर्दै संस्थाको गतिविधिलाई तीव्रता दिने विषयमा पछि छलफल भएको थियो ।  यसबाहेक बैठकमा हालसम्म भएका कामहरूको समीक्षा गरिएको थियो भने सहभागीहरूले विभिन्न कठिनाइका बीच उल्लेख्य काम भएको भन्दै नेतृत्व र पदाधिकारीलाई धन्यवाद दिएका थिए ।

अध्यक्षको सक्रियतामा १० करोडको राहत तथा उद्धार कोष निर्माणका साथै जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरेर प्रशंसनीय काम भएको सहभागीको धारणा थियो । तर, बद्री केसी पक्षले संस्थाको कोषको पैसा दुरुपयोग गरेको बारेमा पनि चर्को आलोचना भएको थियो ।  यस्तै आईसीसी सदस्य, सल्लाहकार लगायतको मनोनयनको विषयमा भने बैठकले थप छलफल र परामर्शको आधारमा टुंगो लगाउने निर्णय गरेको छ । अध्यक्ष आरके शर्माले धेरै अग्रज र एनआरएनए अभियन्ताहरू आकांक्षी देखिएकाले थप अध्ययन गर्नका लागि एक साता समय लिइएको बताए । उनका अनुसार मनोनयनका लागि विश्वभरबाट अभियन्ताहरूको आकांक्षा तीव्र छ । सबैलाई समेटेर जानका लागि एउटा कार्यदल बनाइएको र कार्यदलले एक साताभित्रमा सबै टुंगो लगाएर मनोनीतको सूची सार्वजनिक गर्ने उनको भनाइ छ ।

संस्थालाई अझ चलायमान बनाउन थप छलफल र तयारी गर्नुपर्ने देखिएकाले अध्यक्ष, उपाध्यक्ष र महासचिवसहितको एउटा कार्यदल बनाइएको छ । कार्यदलले कार्यविधि सहित तयार गरेर एक साताभित्र मनोनीत हुनेहरुको सूची टुंगो लगाउने बैठकबाट निर्णय भएको छ ।  एनआरएनएको विधान अनुसार २१ जना आईसीसी सदस्य र २१ जना सल्लाहकार मनोनीत हुन्छन् । यस्तै मानार्थ सदस्य ५१ जना मनोनीत हुने व्यवस्था भएपनि अत्यधिक धेरै आकांक्षीहरु रहेकाले सबैलाई समेट्न चुनौती रहेको उपाध्यक्ष गंगाधर गौतमले बताए । गौतमले बद्री केसीले धाँधली गरेर एनआरएनएमा गरेको गलत क्रियाकलापका कारण आफूहरुतर्फ संसारभरका एनआरएनएहरु आकर्षित भएको जिकिर गरे । 

यस्तै बैठकले विभिन्न टास्कफोर्स गठन गर्ने निर्णय पनि गरेको छ । विज्ञहरुको सहभागितामा हुने उक्त टास्कफोर्समा अर्थविद्, निर्माणविद, श्रमविद्लगायतको सहभागिता रहने र देश विकासका लागि उक्त टाक्सफोर्समार्फत सबै पक्षसँग सहकार्य गर्ने निर्णय भएको अध्यक्ष शर्माले बताए ।  साथसाथै गैरआवासीय नागरिकताका सम्बन्धमा कतिपय व्यवहारिक असहज देखिएकाले यस विषयमा सहजीकरणका लागि अध्यक्षको नेतृत्वमा गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको छ । त्यसका लागि यसैसाता पूर्वअध्यक्ष कुल आचार्य, अध्यक्ष शर्मालगायतका शीर्ष अभियन्ताहरू काठमाडौँ आउने बताइएको छ। यस्तै सामाजिक सुरक्षा कोषलाई सशक्त बनाउनका लागि श्रम मन्त्रीलाई थप पहल गर्नेबारेमा पनि बैठकले निर्णय गरेको छ । 

बैठकले विदेशमा कार्यरत नेपालीका कैयन समस्याहरु रहेकाले  ती समस्याको समाधानका लागि सम्पूर्ण विदेशमा रहेका दूतावास, एनसीसी, वैचारिक र राजनीतिक संघसंस्था परिचालन गरेर सचेतनता कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । त्यसका लागि नेपालमा श्रम र परराष्ट्र मन्त्रालयसँग पनि सहकार्य गर्नका लागि ध्यानाकर्षण गराउने निर्णय भएको छ ।  यस्तै ग्वार्कोमा वैदेशिक रोजगारीका लागि कोरिया जाने फर्म भर्ने विषयमा विवाद हुँदा दुई युवाको मृत्यु भएको सम्बन्धमा पनि बैठकले दुख व्यक्त गरेको छ। बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउँदै पीडितलाई दोषीमाथि कारबाहीको माग गरिएको छ। यस्तै पीडितका परिवारलाई थप सहयोगका लागि सरकारसँग आग्रह गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानमा गम्भीर भएर लाग्न बैठकले ध्यानाकर्षण गराएको छ ।

 गैरआवासीय नेपाली संघको प्रवक्तामा जापानका  नारायण सुवेदी मनोनीत भएका छन् । संघको सोमबार बसेको आईसीसी बैठकले पूर्व सहकोषाध्यक्ष सुवेदीलाई प्रवक्तामा मनोनीत गर्ने निर्णय गरेको हो । बैठकले संस्थाका आधिकारिक सूचना तथा जानकारीलाई व्यवस्थित ढंगले सम्प्रेषणका लागि प्रवक्ता तत्काल नियुक्त गरेको हो।  बैठकले सल्लाहकार, संरक्षक, मानार्थ सदस्य र आईसीसी सदस्यहरू भने अर्को साता मनोनीत गर्नेछ ।  अध्यक्ष आरके शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेपछि आफूहरूले सबै प्रक्रिया पुरा गरेर नयाँ कमिटी घोषणा गरेको भन्दै सरकारको निकाय परराष्ट्र मन्त्रालयले आफूहरूलाई छिट्टै न्याय दिने विश्वास रहेको बताए । आफूहरूले सबै प्रक्रिया पूरा गरेकाले परराष्ट्रले न्याय दिने उनको विश्वास छ ।

Share