मृगौला प्रत्यारोपणमा डाक्टरहरुको ऐतिहासिक सफलता, रोगीहरूमा आशाको किरण छरियो ।

एजेन्सी ।

अमेरिकामा शल्य चिकित्सकहरुले जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेका छन् । अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका सर्जन चिकित्सकहरु डा.नाहेल इलियास Dr. Nahel Elias, र डा.तात्सुओ कावाई Dr. Tatsuo Kawai ले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला अन्तिम चरणमा बाँचिरहेका ६२ बर्षीय पुरुष बिरामीमा प्रत्यारोपण गरेका हुन् ।

मास जनरल ट्रान्सप्लान्ट सेन्टरका सर्जनहरुले मार्च १६ मा चार घण्टा लामो शल्यक्रिया गरेका थिए। यो प्रक्रियाले बिरामीहरुलाई सजिलैसँग अंगहरु उपलब्ध गराउने प्रयासमा एउटा प्रमुख कोसेढुङ्गा साबित हुनेभएको छ । आनुबंशिक रुपमा सम्पादन गरिएको सुँगुरको मृगौलाको विश्वको पहिलो सफल प्रत्यारोपण भएको हार्वर्डसँग सम्बद्ध म्यासाचुसेट्स जनरल हस्पिटलले घोषणा गरेको छ ।

यो पटक सुँगुरको मृगौला प्रत्यारोपण गरिएका बिरामीमा नयाँ मृगौलाले पिसाब उत्पादन गर्न थालेको र बिरामी केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने अस्पतालका अधिकारीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् । यदि आनुवंशिक रूपमा सुधार गरिएका जनावरबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिएमा डायलासिसको चलन नै सकिन सक्ने अस्पतालले दाबी गरेको छ ।

डाक्टरहरूले बिरामीमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरेर चिकित्साको इतिहासमा ठूलो क्रान्ति गरेका छन् । यसले विश्वका करोडौं मिर्गौला रोगीहरूमा आशाको किरण जगाएको छ ।

जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेको संसारमै यो पहिलो पटक हो । यसअघि गएको भदौमा अमेरिकाकै न्यूयोर्क यूनीभर्सिटीका अनुसन्धानकर्ताले ब्रेन डेथ अर्थात मृत्यु भएका एक व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरेर अध्ययन गरेका थिए ।

 

Share