बेल्जियम निवासी आख्यानकार अधिकारीको कथासंग्रह “प्रवासीको देश हुन्न” सार्वजनिक ।

काठमाडौँ ।
दुई दशक प्रवासी भुमि बेल्जियममा प्रवासी जीवन बिताईरहेका लेखक, संचारकर्मी साथै आख्यानकार पंचम अधिकारीको कथासंग्रह “प्रवासीको देश हुन्न” सार्वजनिक भएको छ । काठमाडौंमा यहि जुलाई ३ तारिख बुधबारका दिन आयोजित एक कार्यक्रमबीच आख्यानकार नयनराज पाण्डे,समीक्षक राजकुमार बानियाँ र सुमन वर्षा लगायतले कृतिको लोकार्पण गरेका हुन् ।

‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामथ्र्य हो ।’ कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखेका थिए | आफू हत्तपत्त कसैको प्रशंसा नगर्ने तर अधिकारीको कथासंग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताउँदै अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ,यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बिजारोपण गरेको समीक्षक बानियाँले कृति बारे आफ्नो धारणा राखेका थिए ।
अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,अतियथार्थवाद र जादुयी यथार्थवाद र अधिआख्यानको प्रयोग सफल छ भन्दै समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखेकी थिईन ।

प्रवासमा रहेका धेरै नेपालीहरुको मनको भाव बोकेर आम नेपालीहरुको जीवन्त कथा सहित सामाजिक मनोबिज्ञान बोकेको पुस्तक प्रवासीको देश हुन्न भन्ने कथा संग्रहमा १४ वटा कथा समावेश छन्। स्वदेशमा बसेर प्रवासमा सपना बुन्ने अनि जन्मभूमि छाडे पनि त्यसको माया मनमा सँगालेर परदेशमा पिल्सिएका मनहरुको प्रतिनिधित्व गर्दै यो कथासङ्ग्रह मानक बन्नेछ । युरोपका नेपालीबारे लेखिएका यस संग्रहका कतिपय कथामा मातृदेशको याद,युवावस्थाको पुरानो सम्झना र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्त्वको भाव पाइन्छ भने निष्ठामा बाँच्नेहरूको कहानी छ। पप-संस्कृति र मिडियाको व्यापक प्रभावले निथ्रुक्क भिजेको समाजमा मानवीय विडम्बना र संवेदनाहरूलाई केलाउँदै कथा लेखनको नयाँ आयाम देखाउने जमर्को यस कृतिले गरेको छ।

अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’,न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’को बच्चा पाउने रहर,हाइस्कुले आइकन ‘लोकल हिरो’,गुन्डासँगको प्रेम र ब्रेक-अपमा ‘घातक आकर्षण’,काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’भन्ने आत्मज्ञान,प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै?’,राजा महाराजाको कथा भन्ने ‘पिकासो केटी’,एक होनहार प्रतिभाको अन्त्य ‘यो बर्बादी’,प्रेममा आत्म-खोज गर्दै ‘इपिसेन्टर पालुङटार’,तिमी सम्बोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’,ढोँगी जीवनको मनोब्लग ‘इडियट’लगायतका कथाहरू यस संग्रहमा समेटिएका छन्।

दुई दशकदेखि युरोपको राजधानी ब्रसेल्सको सेरोफेरोमा बसोवास गरिरहेका पत्रकार पृष्ठभूमिका लेखक साथै विश्वयात्री अधिकारी एक ग्लोबल आईटी कम्पनीमा काम गर्छन्। यसअघि पनि बि.स.२०६७ सालमा लेखकको उपन्यास ‘पथिक प्रवासन’ प्रकाशित भैसकेको छ । आख्यानकार अधिकारीको दोस्रो कृति ‘प्रवासीको देश हुन्न’कथासङ्ग्रह शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको मूल्य नेपालमा ४२५ रुपैंया र विदेशमा ७ युरो राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *