प्रमुख संरक्षकले संथाको समानान्तर महाधिवेशन आह्वान गर्ने अधिकार विधानले प्रदान गरेको देखिंदैन :- शशी पौड्याल |

शशी पौड्याल, नेदरल्याण्ड्स |

गैरआवसिय नेपाली संघ बिघटित हुने अवस्थाको बर्तमान परिस्थिती एनआरएनएको ईतिहास मै अर्को गम्भिर दुर्भाग्य हो । साँडे दुई वर्ष अगाडि मात्र नवौ महाधिवेशनमा घटेको हायत होटेलको गतिबिधी बिर्सिन पाएका छैनौ तर गैर आवासिय नेपाली संघ दुई टुक्रामा फुट्ने परिस्थिती तपाईंहाम्रो सामु देखिन्छ । सामाजिक संजालमा एकातिर बर्तमान प्रमुक्ष संरक्षक शेष घलेले संस्थाको संरक्षण गर्नु पर्नेमा बिखन्डनकारी भूमिका निर्वाह गर्दै गरेको भन्ने र अर्कातिर प्रमुख संरक्षकले संस्था जोगाउन समानान्तर महाधिवेशन बोलाएको भन्ने खालका लेखहरु छ्यापछ्याप्ती प्रकाशित भैरहेका पाईन्छन । लेख लेख्नेको दृष्‍टिकोणबाट हेर्दा दुई पक्षको तर्क मनासिव जस्तो देखिएता पनि यो परिस्थिती निर्माण हुनुमा दुबै पक्षको थोरैधेरै भूमिका रहेकै हुन्छ । यद्दपि संघको प्रमुख संरक्षकले आइसिसिको निर्णय बिपरित समानान्तर महाधिवेशन घोषणा गर्न जायज होला कि नहोला भन्ने मुल प्रश्नलाई केन्द्रबिन्दु बनाएर लेखिएको यो संक्षिप्त बिश्लेषण ब्याक्तिगत अलोचना भन्दा पनि संस्थागत संरचनामा केन्द्रित रहेको छ ।

प्रमुख संरक्षक र लेखकको संस्थागत सम्बन्ध

म एनआरएनएको अभियानमा २००३ बाटै सकृय हुँदै आए र २००५ मा मेरो अध्यक्षतामा गैरआवासिय नेपाली संघ नेदरल्याण्ड्स स्थापना भयो र म दुई कार्यकाल यसको अध्यक्षको पदमा रहेर सेवा गर्ने मौका पाए । यस समयमा मेरो उपेन्द्र महतो, राम थापा र जिवा लामिछाने जस्ता अग्रजहरुसँग संस्थागत संपर्क हुने गर्थ्यो । बर्तमान प्रमुख संरक्षक शेष घलेसँग पनि मेरो ब्याक्तिगत सम्बन्ध भएन तर संस्थागत संपर्क २०११ वा २०१२ तिर भएको थियो जतिबेला म एनआरएनए नेदरल्याण्ड्सको संरक्षक परिषद सदस्य थिए । तर केहि वर्ष अगाडि नै शेष घलेको नाम अस्ट्रेलियाको एक सफल नेपाली व्याबसायी भनि चर्चामा आएको हुँदा मिलेमा भेट्ने उत्सुकता लागिरहेको थियो । सन २०१३ को शुरुशुरु तिर हुनुपर्छ शेष घलेले नेदरल्याण्ड्स भ्रमण गर्दा मेरो उनिसँग भेट भयो । नेदरल्याण्ड्सको शहर द हेगमा लिट्टल नेपाल रेस्टुराँमा स्वागत कार्यक्रम राखिएको थियो र सो कार्यक्रममा प्रतक्ष भेट हुने मौका मिल्यो जुन भेट सकारात्मक थियो । तत पश्च्यात हाम्रो खासै संपर्क भएन तर कार्यकाल २०१३-२०१५ मा शेष घले केन्द्रिय अध्यक्षमा निर्वाचित भए । सोही कार्यकालमा मलाई पनि केन्द्रिय सल्लाहकारमा मनोनयन भएको खबर मैले पहिला सामाजिक सन्जालबाट र पछि अधिकारिक पत्रबाट जानकारी लिए । संघको केन्द्रिय सल्लहकारको हैसियतले शेष घलेसँग मेरो अक्कल झुक्कल कुराकानी हुने गर्दथ्यो जुन टु द पोइन्ट र अर्थपूर्ण थियो । शेष घलेको कार्यकाल २०१५-२९१७ ताका भने मेरो केन्द्रिय भूमिका न्युन नै रहयो किनकी म कुनै मनोनित पदमा पनि थिएन साथै सल्लाहसुझाव पनि खासै औपचारिक रुपमा भएन पनि ।

प्रमुख संरक्षकलाई समानान्तर महाधिवेशन बोलाउने अधिकार छ वा छैन ?

मेरो बुझाईमा निती, नियम र सर्वब्यापी प्रचलन अनुसार आइसिसिको कार्यसमितीले मनोनित गरेका कुनै पनि पदको जिम्मेवारि बहन गरेका ब्याक्तिहरुले कार्यसमितिको निर्णयलाई सर्वमान्य ठान्नु पर्ने हुन्छ र उनिहरुले आफ्नो उत्तरदायित्व पनि कार्यसमिती मै बहन गर्नु पर्ने हुन्छ । यदि कार्यसमितिको निर्णयमा चित्त नबुझेको खन्डमा बिरोध जनाउन सकिन्छ र वार्षिक साधारण सभा वा महाधिवेशनमा यस बिषय छलफललाई छलफल मा लगेर बहुमत बाट पास गराउन तिर लाग्न भने सकिन्छ ।
गैरआवासिय नेपाली संघको बर्तमान बिधानको दफा १६.१.४ ले संरक्षक परिषदलाई दिएको अधिकार पनि माथि उल्लेखित निती, नियम र सर्वब्यापी प्रचलनको दाँयरा भित्रै पर्दछ । तदनुसार यस दफाले संरक्षक परिषदलाई समानान्तर माहाधिवेशनको आवहान गर्ने अधिकार प्रदान गरेको छैन भन्ने नै बुझ्नु पर्ने हुन्छ । यस दफाले भन्न खोजेको आसय पनि संस्थाको संरक्षणको लागि एनसिसिका अध्यक्षहरुको बैठक बोलाएर संस्थाको संरक्षणमा काम गर्न संरक्षक परिषदले सक्ने छ भन्ने नै हो । तर समानन्तर महाधिवेशन बोलाएर संस्थाको संरक्षण हुन्छ भन्ने तर्क तार्किक हुन सक्दैन किनकी समानन्तर महाधिवेशन भनेको संघको बिघटनको शुरुवात हो भन्ने बुझिन्छ । साथै संरक्षक परिषद भन्नाले परिषदका सबै सदस्यहरुलाई बुझिन्छ । यस्तो जटिल बिषयमा संरक्षक परिषद भित्र नै एकरुपता छैन भने कानुनी रुपमा यस्ता निर्णयलाई आधिकारिकता प्रदान गर्न सहज हुँदैन । त्यसैले न निती, न नियम, न प्रचलित संस्कार र बिधान अनुसार नै प्रमुख संरक्षकलाई समानान्तर महाधिवेशन आवहान गर्ने अधिकार प्रदान गरेको भन्ने नै बुझिन्छ ।

के बर्तमान परिस्थितीको समाधानको बिकल्प समानान्तर माहाधिवेशन हो त ?

प्रमुख संरक्षकले कार्यसमितिको निर्णय र संघको बिधान बिपरित समानान्तर महाधिवेशन बोलाउनु भनेको संघको संरक्षण गर्न खोज्नु भन्ने अर्थ लाग्न सक्दैन किनकी समानान्तर महाधिवेशनले संघलाई बिघटनको दिशा तिर मोडेको हुन्छ । यद्दपि मेरो प्रमुख संरक्षकसँगको चिनाजानीमा उनिले ब्याक्तिगत स्वार्थमा केन्द्रित भएर संघलाई बिघटन गराएर लैजान खोजेको भन्ने कुरामा म बिश्वास्त छैन । प्रतिनिधिको विवादमा कुनै निकास निकाल्न नसके पछि संघ निर्णयहिन भएको अवस्था थियो । यसरी नेत्रित्व नै निर्णयहिन हुनुमा सबैको स्वार्थलाई सम्बोधन गर्न नसक्नु नै प्रमुख कारण देखिन्छ । अहिलेको विवादमा बढिमा राजनीतिक स्वार्थ र केहि हदमा जातिय स्वार्थ पनि जोडीएको भन्ने नै बुझिन्छ तर प्रमुख संरक्षकलाई यस्तो निर्णयमा पुग्न जातिय र दलिय दवाबमा परेको थियो वा थिएन भन्ने कुरा रिसर्च गरे पछि मात्र थाहा हुने भए पनि आसंका भने गर्न सकिन्छ । साथै शेष घलेले नेत्रित्व गरेका संघका परियोजनाहरु जस्तै ललित निवास, भिजन बियोन्ड २०२० को परिणाम र घले परिवारले एनआरएनएको नेत्रित्व खेलेका भूमिका पूर्ण दुर्दर्शी नभएकाले पनि समानान्तर महाधिवेशनको निर्णय पूर्ण दुर्शर्शितामा भएको छैन कि भन्ने आसंका हुनु स्वाभाविक देखिन्छ । बर्तमान परिस्थितीलाई समाधान गर्नको लागि समानान्तर महाधिवेशन बिकल्प हुनै सक्दैन । त्यसैले समानान्तर महाधिवेशन भन्दा पनि एकिक्रित महाधिवेशनको बिकल्प खोज्न तिर लाग्नु वा संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनलाई पूर्ण समर्थन गर्नु बिकल्प छैन ।

लेखक  शशी पौड्याल गैर आवासिय नेपाली संघ नेदरल्याण्ड्सको संस्थापक अध्यक्ष साथै पुर्व प्रमुख संरक्षक पुर्व केन्द्रिय सल्लाहकार साथै बर्तमान मानार्थ परिषद सदस्य पनि हुन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *