बेल्जियम ।
यही २०२६, जनावरी २४ तारीख सनिबारका दिन तामाङ समाज बेल्जियमको आयोजनमा २८६२ सोनाम ल्होछार(ता ल्हो,घोडा वर्ग) कार्यक्रम बेल्जियमको पर्यटकीय सुन्दर शहर ब्रुजमा भव्य रुपमा सम्पन्न भएको छ। तामाङ समाज बेल्जियमकी अध्यक्ष लालिङ तामाङको अध्यक्षतामा आरम्भ भएको कार्यक्रम मा लामा घ्याछो तामाङद्वारा पुजापाठ गरी उपस्थित सवैले वाङ थापी,आर्शिवाद लिएका थिए ।
बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत सेवा लम्साल नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमकी अध्यक्ष प्रविना गुरुङ र समाजकी अध्यक्ष लालिङ तामाङले पानसमा दीप प्रज्वलन गरेर संयुक्तरुपमा सोनाम ल्होछार कार्यक्रम उदघाटन गर्नु भएको थियो । समाजका उपाध्यक्ष माया तामाङले सम्पुर्ण उपस्थित आगन्तुकहरुलाई न्यानो स्वागत मन्तब्य राख्नुभएको थियो । नेपालको राष्ट्रिय गान बजाएर औपचारिक कार्यक्रमको शुरुवात गरिएको थियो । बेल्जियमवासी सम्पुर्ण तामाङहरुको तर्फवाट तामाङ समाज बेल्जियमकी संरक्षक अनिता लामा, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमकी अध्यक्ष विशेषअतिथि प्रविना गुरुङ र ल्होछार कार्यक्रमको प्रमुख अतिथी महामहिम राजदूत सेवा लम्सालले छोटो, मीठो र सान्द्रभिक शुभकामना मन्तव्य राख्नु भएको थियो। तामाङ समाज बेल्जियमकी अध्यक्ष अध्यक्ष लालिङ तामाङले उपस्थित पाहुनाहरुलाई उपस्थितीको लागि धन्यवाद दिदै पहिलो चरणको कार्यक्रम अन्त्य भएको घोषणा गर्नुभएको थियो ।
बिशेष अतिथी आदिबासी मातृ संस्थाहरू कल्पना मगर अध्यक्ष मगर संघ बेल्जियम ,इन्दिरा चाम्लिङ अध्यक्ष किरात राई सोसाईटी बेल्जियम,पेम्बा शेर्पा अध्यक्ष शेर्पा किदुग बेल्जियम ,बदन योगहांग अध्यक्ष किरात याकथुम चुम्लुंग , तमु समाज बेल्जियम अध्यक्ष राम घले लगायतको बिशेष उपस्थिती थियो।
कोषाध्यक्ष मानु घिसिंग, अनिता लामा ले स्वागत गरेको सो कार्यक्रममा बिभिन्न राजनैतिक संगठन, विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले अथिती आथित्यता ग्रहण गर्नु भएको थियो । दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा प्रविना पाख्रीन तामाङ, दिपिका लामा र सुमी तामाङको सामुहिक स्वागत नृत्यले ल्होछारको माहोल नै तातिएको थियो । कमला तामाङ, सारा तामाङ, प्रविना तामाङ, ज्ञानु गुरुङ तामाङ, महि थापा, एलिना तामाङ, स्मारिका सुब्वा र दिपशिखा सुब्बाको मनमोहक प्रस्तुतीले सबै दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।
त्यसैगरी नेपाली पाठशाला, एभरेष्ट नेपाली सोसाईटीका ईशु श्रेष्ठ, आचल शर्मा, प्रशान्न पुन र आदित्य बरुवालको( नृत्य निर्देशक: प्रतिक्षा पुन) सामुहिक तामाङ सेलो नृत्यले हल पुरै ल्होछारमय र रमाइलो भएको थियो । बेलायतवाट पाल्नु भएको गायक कुमार योन्जन तामाङले म्हेन्दोमाया तामाङ सेलो गाएर दर्शकहरुलाई आफुतिर आकर्षक पार्न सतप्रतिशत सफलहुनु भएको थियो भने पोर्चुगल निवासी चर्चित युवा गायकहरु श्री पुष्प वाईवा तामाङ र रामकृष्ण तामाङले चर्चित गित गाएर दर्शकहरुलाई नाच्न वाध्य बनाउनु भएको थियो ।
नुवाकोट र धादिङ भेगको अत्यन्तै प्रख्यात म्हेन्दोमाया नाचले साच्चैनै ल्होछार सांस्कृतिक कार्यक्रमको शोभा बढाएको थियो र सम्पूर्ण दर्शकहरु म्हेन्दोमाया गित संगसंगै दिल खोलेर नाचेका थिए । तामाङ भेषभुषामा सजिएर लुभेन, आरस्कोट, ब्रसेल्स, एन्त्वरपेन,ब्रुज,वस्टनडे,हासल्ट, गेन्ट र सेन्त्रादुनबाट तामाङ समुदाय र आगन्तुक पाहुनाको बाक्लो उपस्थिती देखिन्थ्यो । लुभेन र एन्तवरपेनबाट बसको पनि व्यबस्था गरिएको थियो । खाना तथा हल सजावट व्यस्थापनमा झोरमान वाईवा, अजय गुरुङ र ज्योती घिसिङको नेतृत्वमा सबैले आ-आफ्नो गहन जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएको थियो ।
पहिलो चरणको औपचारिक कार्यक्रम समाजका महासचिव महिन्दो वाईबा र दोश्रो चरणको सांस्कृतिक कार्यक्रम समाजका सदस्य इना तामाङले संचालन गर्नु भएको थियो । तामाङ समाज बेल्जियमको संस्थापक अध्यक्ष राजकुमार लामा भुतपूर्व अध्यक्ष भरत लामा र निर्वतमान अध्यक्ष राम लामालाई सम्मान पत्र र खादा हस्तान्तरण गरेर वहाँहरुलाई सम्मान गरिएको थियो । स्मरणरहोस तामाङ समाज बेल्जियम सन २००८ मा बेल्जियमको राजधानी ब्रसेल्समा स्थापना भएको थियो । त्यसरी नै सम्पूर्ण कलाकारहरुलाई सम्मान पत्र वितरण गरिएको थियो । डिजे आरोश खडकाको तालमा सम्पूर्ण दर्शकहरुले मध्यरात सम्म नाचेर भरपुर मनोरञ्जन र आनन्द लिएका थिए ।

