यूरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट भट्टराईको उम्मेदवारी दर्ता

जर्मनी,   गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष कुमार भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । भट्टराईले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी दर्ता गरेका हुन् । सन् २०१९-२०२१ कार्यकालका लागि सोही पदको प्रत्यासी रहेका भट्टराई झिनो मतले उपविजेता भएका थिए।

सन् २००५ देखि एनआरएनएको सदस्य हुँदै संघमा सक्रिय रहँदै आएका भट्टराई पदिय जिम्मेवारीका हिसाबले २०११ देखि एन आर एन अभियानमा निरन्तर सक्रिय छन् । भट्टराईले यस बीचमा थुप्रै टाक्सफोर्स र ज़िम्मेवारीहरूमा रहेर काम गरिसकेका छन् ।

‘अग्रज, अभियन्ताहरुको सरसल्लाह तथा आग्रहमा अघिल्लो कार्यकालमा अधुरो रहेको मेरो नेतृत्वको यात्रालाई पूरा गर्नका लागि सबै खाले विसंगतिहरू संग लड्ने सोच सहित एक पटक तपाईहरूको सामु विश्वासको कसीमा रेटिने निर्णयमा पुगेको छु’,भट्टराईले उम्मेदवारी दर्ता गरे संगै  मतको सदुपयोग गर्दै आफुलाई मतदान गर्न सम्पूर्ण  मतदाताहरुलाई अनुरोध गरेका छन् ।

संघमा समय समयमा देखिने बिसंगतीहरू, एनसिसीहरूमा रहेका असमानताहरू, निर्वाचनमा रहेका विविधताहरू, सदस्यताका समस्या, नागरिकताको सवाल, जिम्मेवारीहरूको अनुचित प्रयोग लगायतका विषयहरूमा उनले फरक धारणा राख्दै आएका छन्।

परिणाम हेरेर जसरी भएपनि गन्तब्यमा पुग्नु भन्दापनि विधी र पद्धतिसंग चलेर गन्तब्य प्राप्तिको यात्रालाई स्विकार्ने मान्यता राख्दै सबै किसिमका समस्याहरूको समाधान र सम्भावनाहरूको पुर्ण सदुपयोग गर्न हरसम्भव कोशिस गर्दै सुरुवाती त्यस तर्फको पहिलो पाईलाको रूपमा प्राप्त हुने जिम्मेवारीलाई ईमान्दारीताका साथ पारदर्शि रूपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

आगामी बर्ष २०२१-२३ कार्यकालका लागि  संघको अध्यक्ष सहित ५१ पदाधिकारीको लागि उम्मेदवार मनोनयन हुदै गरेको निर्वाचन समितिले जनाएको छ | निर्वाचन समितिले सोमबार बिहान ३५९० जना मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ |

यहि मार्च २१ र २२ मा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको विधुतीय माध्यमबाट  निर्वाचन र मार्च २६ र २७ मा काठमाण्डौंमा १० औं अन्तराष्ट्रिय महाधिवेशन हुन गैरहेको छ |

Share