विश्वभरिका झापालीहरू माल्टामा भेला हुँदै, समाजले तेश्रो क्षेत्रीय सम्मेलनको भब्य तयारि गर्दै ।

नेदरल्याण्ड्स ।

विश्वभरि छरिएर रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन अप्रिल २७ र २८ तारिख युरोपियन मुलुक माल्टामा हुने भएको छ । समाजको दोस्रो बैठकले तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजले पहिलो क्षेत्रीय सम्मेलन सन् २०१८ को अप्रिल २६ देखि २८ तारिखसम्म कतारमा र दोस्रो क्षेत्रीय सम्मेलन सोही वर्षको सेप्टेम्बर २४ देखि २६ तारिखसम्म दक्षिण कोरियामा सम्पन्न गरेको थियो । त्यसयता कोरोना महामारी तथा अन्य कारणले समाजको क्षेत्रीय सम्मेलन हुन सकेको थिएन । समाजको एक कार्यकालमा एक क्षेत्रीय सम्मेलन गर्ने लक्ष्यअनुरुप यस पटक युरोपमा सम्मेलन हुन लागेको हो । सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न झापाली समाज माल्टाले तयारीलाई तीब्र बनाएको छ ।

संस्थालाई भविष्यमा आइपर्ने विभिन्न कार्यहरुमा आर्थिक सहजताका लागि अक्षयकोष स्थापना गर्ने तथा युरोप लगायत अन्य क्षेत्रमा राष्ट्रिय समितिहरु विस्तार गर्ने, विश्वभर छरिएर रहेका झापालीहरुलाई एकत्रित गर्दै आपसी भाईचारालाई बढाउँदै पहिलो र दोश्रो क्षेत्रीय सम्मेलनमा घोषणा गरिएका बृहद लगानीलाई मुर्त रुप दिन गृहकार्य शुरु गर्ने लगायतका विषयमा छलफल गरी सम्मेलनले घोषणा पत्र जारी गर्ने विज्ञप्तिमा उल्लेख छ ।

संसारभर छरिएर रहेका झापालीहरुलाई उक्त सम्मेलनमा सहभागिताका लागि अन्तर्राष्ट्रिय झापाली समाज र झापाली समाज माल्टाले आग्रह गरेको छ । झापाली समाज नेदरल्याण्ड्सका अध्यक्ष प्रकाश गिरीले झापाको विकासमा विश्वभरबाट लगानी भित्र्याउन तथा विश्वभर छरिएका झापाली स्वयंको व्यक्तिगत हित र परोपकारी काम कालागि समेत यो सम्मेलन महत्वपूर्ण हुनेहुँदा संसारबाट अत्याधिक सहभागिता हुनेमा दुई मत नरहेको साथै नेदरल्याण्ड्सबाट सहभागिता जनाउन ईच्छुक सहभागीले जानकारी गराउन समेत आग्रह गरेको  बताएका छन् ।

भौतिक संरचना निर्माणदेखि स्वास्थ्य,शिक्षाका क्षेत्रमा काम गर्दै आएको समाजले झापामा सामाजिक क्षेत्रमा करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । ढुंगानाको नेतृत्वमा समिति बनेपछि अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्ड कपलाई ७ लाख र नेपाल पत्रकार महासंघ झापाको पत्रकार सहारा उपचार कोषलाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

झापालीहरु बसोबास रहेको ४० बढी राष्ट्रमा रहेका झापालीहरुको विश्वसंजालले झापाको इष्टर्न सहारा कम्पनी लिमिटेडमा समेत लगानी गर्न चासो र इच्छा व्यक्त गरिरहेको जानकारी गराइएको छ । इष्टर्न सहारा कम्पनी लिमिटेडले आवश्यक प्रक्रिया पूरा गरी आईपीओ निष्काशनका लागि ग्लोबल आईएमइ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको जानकारी गराएको छ ।

 

Share