एनआरएन नेदरल्याण्ड्सको साधारण सभा सार्ने अनुरोधलाई अध्यक्ष पुर्जाले कार्यसमितिमा बिशेष प्रस्ताव राख्ने |

नेदरल्याण्ड्स  |      गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सको एक हप्ता अघि बसेको कार्यसमितिको बैठकले फेब्रुवरी २० तारिख सोमबार गर्ने बार्षिक साधारण सभा छोटो समय र उपयुक्त स्थान नभएको र उक्त साधारण सभा सारियोस भन्दै वहुसंख्यक एनआरएनए नेदरल्याण्ड्सका पन्जिक्रित सदस्यहरुको तर्फबाट बिशेष अनुरोध गरिएको छ |

हिजो फेब्रुवरी १७ तारिख बहुसंख्यक पंजीकृत सदस्यहरुको तर्फबाट भन्दै सामाजिक संजालमा बिधान, प्रचलित संस्कार र नजिर समेत नअपनाई गर्न लागिएको उक्त साधारण सभा बिधि र विधानमा रहेर गर्नुपर्ने भन्दै अर्को मिति तय गरेर गर्न एनसीसी नेदरल्याण्ड्सलाई पत्राचार गरिएको र आईसीसीलाई समेत बोधार्थ पठाईएको उल्लेख गरिएको छ |

कम्तिमा ३ हप्ता अगाडि नै एजेन्डाहरु र साधारण सभा हुने स्थान सहितको निमन्त्रणा पन्जिक्रित सदस्यहरुलाई पठाउनु पर्ने,आर्थिक र प्रगति प्रतिवेदन सकभर ३ हप्ता अगाडि नै सूचना सर्कुलेट गर्नु पर्ने,आर्थिक प्रतिवेदन आर्थिक समितिले पास गरेर मात्र अनुमोदनको लागि पेस गर्न पाइने, वार्षिक साधारण सभाको लागि निमन्त्रणा सम्पूर्ण ५०५ जना पन्जिक्रित सदस्यहरुलाई पठाउनु पर्ने, वार्षिक साधारणसभा वा अधिवेशनको स्थल तटस्थ स्थानमा राखिनु पर्ने जस्ता बिधान, प्रचलित संस्कार र नजिर रहेको उल्लेख गरिएको छ |

श्री अध्यक्ष ज्यू तथा कार्यसमिती
एनआरएनए, नेदरल्याण्ड्स
बिषय: साधारण सभाको मिती र स्थान परिवर्तन गरियोस भन्ने बारे।
महोदय,
साधारण सभा विधान सम्मत र सर्वस्वीकार्य हुनको लागि;
१. कम्तिमा ३ हप्ता अगाडि नै एजेन्डाहरु र साधारण सभा हुने स्थान सहितको निमन्त्रणा पन्जिक्रित सदस्यहरुलाई पठाउनु पर्ने (बिधान)
२. आर्थिक र प्रगति प्रतिवेदन सकभर ३ हप्ता अगाडि नै सूचना सर्कुलेट गर्नु पर्ने (नजिर)
३. आर्थिक प्रतिवेदन आर्थिक समितिले पास गरेर मात्र अनुमोदनको लागि पेस गर्न पाइने (बिधान)
४. वार्षिक साधारण सभाको लागि निमन्त्रणा सम्पूर्ण ५०५ जना पन्जिक्रित सदस्यहरुलाई पठाउनु पर्ने (बिधान)
५. वार्षिक साधारणसभा वा अधिवेशनको स्थल तटस्थ स्थानमा राखिनु पर्ने (प्रचलित संस्कार र नजिर)
६. माथि उल्लेखित प्रकृयाहरु पूरा गरी कम्तिमा २५% पंजिक्रित सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न गर्नुपर्ने (बिधान)
बिधी र बिधानको पलाना भएन भने वार्षिक साधारण सभाले पूर्णता पाउन सक्दैन ।
विधानका यिनै प्राबधानहरु अंगिकार गरेर यस अगाडि सम्पन्न भएका साधारण सभाका अभ्यास र नजिरहरुले यि कुराहरुलाई न्यूनतम आधार मानेको छ ।
तर हाल प्रकाशित गरिएको सूचनाको मिती १४-०२-२०२३, साधारण सभा बोलाइएको मिती २०-०२-२०२३ र तय भएको स्थान आदिलाई मध्येनजर गर्दा पन्जिक्रित सदस्यहरुको हक सुरक्षित गरिएको महशुस गर्न सकिने अवस्था छैन।
एनआरएनए नेदरल्याण्ड्सको पन्जिक्रित सदस्यको हकै कुन्ठित हुने गरि बोलाइएको उक्त साधारण सभा एनआरएन नेदरल्याण्ड्स कै पनि गरिमा नरहने हुँदा उक्त साधारण सभाको मिती सारी संस्थाको विधान, प्रकृया र परम्परागत अभ्यासलाई आत्मसाथ गर्दै साधारण सभा बोलाइयोस भन्ने ध्यानाकर्षण गराउंदै अनुरोध गर्दछौं।
वहुसंख्यक एनआरएनए नेदरल्याण्ड्सका पन्जिक्रित सदस्यहरुको तर्फबाट
वोधार्थ: एनआरएनए आसिसी

माथि उल्लेखित बिषयमा एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष मिम पुर्जा संग नेपालहल्याण्ड मिडियाले टेलिफोन मार्फत जानकारी लिएको थियो | साधारण सभा सार्न अनुरोध गरिएको बिषयमा आफुलाई औपचारिक जानकारी नआएकाले मिडिया मार्फत जनाकारी भएको हुँदा कार्यसमितिको निर्णयले साधारण सभाको मिति र स्थान तोकिएको जानकारी गराएका छन् | विभिन्न कारणले साधारण सभा गर्न नसकिएको उल्लेख गर्दै अध्यक्ष पुर्जाले उल्लेखित स्थान पर्याप्त रहेको तर समय एकदमै थोरै भएकाले साधारण सभा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले सामाजिक संजालमा राखिएका प्रश्नहरुको सबै जवाफ दिन तयार रहेको साथै  आर्थिक बिषयको बारेमा उठेका जिज्ञासाहरुको समेत जवाफ दिन तयार रहेको बताएका छन् |माथि उठाइएका बिषयहरुमा सकारात्मक रहेको र आगामी आईतबार कार्यसमितिको बैठक रहेकाले बिशेष अजेण्डा प्रस्तुत गर्दै मिति र समय सार्ने बिषयमा गहन छलफल गरिने अध्यक्ष पुर्जाले नेपालहल्याण्ड डटकमलाई बताएका छन् |

Share