प्रसँग: राजनीति, राजनीतिक पार्टी, निर्वाचन र मतदान।

राजेन्द्र शर्मा (नेपाल प्रेमी ), नेदरल्याण्ड्स |

स्थानीय निर्वाचन नजिकिंदै गर्दा देशै भरिका स्थानीय निकायहरु र सम्पूर्ण देश नै चुनावी लहरमा बगेको छ। बिभिन्न राजनैतीक दलहरु मतदाताहरुलाई आफ्नो पक्षमा पार्न तंछाड मंछाड गरिरहेका छन। यता सम्भावित उम्मेदवारहरु पनि वर्तमान पार्टीमै बसेर होस् वा दल बदल गरेर होस टिकट हात पार्ने होडबाजिमा छन। लोभै लोभमा कहिले यता कहिले उता गर्नेहारुलाई खादा माला लाइदिन पार्टीको तह र हैसियत अनुसार आफुलाई ठुलै नेता हुँ भन्ठान्नेहरुलाई भ्याइ नभ्याइ छ। जे होस् मौकामा चौका हान्ने र राजनितीलाई प्रयोग गरेर थैलो भर्ने दाउ हेरेर बसेकाहरुलाई राजनैतीक मंसिर लागेको छ। उता सर्वसाधारणको मनमा अहिले “राजनीति” शब्द “घृणा” को पर्यायवाची शब्द बनेको छ।

राजनीति भनेको धोका र बेइमानीको खेल हो भन्ने बुझाई छ सबैको मनमा। मायामा, व्यापारमा, जागिरमा वा कुनै पनि पेशा व्यबसायमा कुरो नमिल्दा वा वाचा पूरा नहुँदा राजनीति खेलेको भन्ने भाषा प्रयोग गरिन्छ। यसको अर्थ “राजनीति” झुट वा बेइमानी हो भनेर अपरिभाषित रुपमा अर्थ लगाइन्छ। राजनीतिलाई जतिसुकै नकारात्मक अर्थमा बुझ्ने गरेता पनि यो एउटा अपरिहार्य बिषय बनेको छ। यसलाई नकार्न कसैले पनि सक्दैन। देशको निती निर्माण, राज्य संचालनको लागि बजेट तर्जुमा र विनियोजन, प्रशासन लगायत राज्य संचालनका सबै निकाय वा अङ्ग जसलाई एक शब्दमा “सरकार” भनिन्छ, यो राजनीति बाटै सन्चालन हुन्छ र राजनीति राजनैतीक दलहरुबाट गरिन्छ। सर्वसाधारणमा राजनिती प्रति यति धेरै वितृष्णा छ कि धेरै जनामा मतदान गर्ने जोस जागर पनि हराउदै जान थालेको छ। तर सर्वसाधारण मतदाताहरुले जतिसुकै वेवास्ता गरे पनि कुनै न कुनै राजनितिक दल विजेता घोषित भै अन्तत: राजनीतिले नै सर्वसाधारण माथि शासन गरिरहेको हुन्छ। तसर्थ, राजनिती प्रति वेवास्ता होइन कि झन बढी सचेत भै सहभागी हुनु जरुरी छ।

आफुले भाग नलिए पनि वा वेवास्ता गरे पनि कुनै न कुनै राजनीतिक शक्तिले आफुलाई शासन गर्ने भए पछि किन आफुले चाहेको शासक नचुन्ने? सर्वसाधारणको लागि बार्है महिना राजनितिमा सकृय सरिक हुन सम्भव छैन। तसर्थ, निर्वाचनको बेलामा चनाखो भै राजनीति पार्टीहरुले गत निर्वाचनमा गरेका वाचा के कति पूरा गरे वा त्यसतर्फ काम गरे, जे जति उपलब्धी भयो त्यो भन्दा बढी हुन सक्ने थियो वा थिएन लगायतका बिषयमा समिक्षा गरेर मतदान गर्नु जरूरी छ। पेशागत रुपमा राजनिती गर्ने वा राजनैतीक पार्टीका सकृय सदस्यहरु बाहेक अन्य सर्वसाधारण मतदाताहरुले पुस्तौनी कांग्रेस वा एमाले हुनु जरुरी छैन। उनिहरुले कुनै राजनैतीक पार्टीलाई अन्ध समर्थन गर्नु भन्दा पार्टीले उठाएका मुद्दा र त्यसमा उनिहरु सत्तामा हुँदा गरेका उपलब्धिका आधारमा समर्थन वा विरोध गर्न जरुरी छ। नयाँ विचारका साथ अगाडि आएका नयाँ पार्टीहरुको बारेमा भने उनिहरुको विगतबाट मापन गर्न सकिने हुँदैन। उनिहरुको लागि मापन गर्ने आधार भनेको उनिहरुले उठाएको मुद्दा र उम्मेदवार हो।

पार्टी नयाँ भए पनि यस अगाडि बिभिन्न पार्टीमा अनैतीक कार्य गरी पार्टी निष्कासन भै वा निर्वाचनको मुखैमा आएर उम्मेदवारको लागि सौदाबाजी गरेर पार्टी परिवर्तन गर्नेहरुलाई कदापी भोट् दिनु हुँदैन। तिनीहरु अवसरबादी हुन। उनिहरुको कुनै खास एजेन्डा हुँदैन। उनिहरुको एजेन्डा नै टिकट मिलाउनु र चुनाव जित्नु मात्र हो। जनताका समस्यासँग उनिहरुको कुनै चासो र गुनासो हुँदैन। निर्वाचनमा मतदान गर्दा उम्मेदवारको आचरण, आर्थिक अवस्था, आर्थिक श्रोत, उसको पेशागत सफलता आदी समेत लाई मध्यनजर गरेर प्रतिनिधि छनौट गर्नु पर्छ। ठुलो होस् या सानो कुनै पेशा गरेर त्यसमा सफल भएको व्यक्ति उम्मेदवार भएमा त्यस्ता व्यक्तिलाई प्रतिनिधी छनौट गरियो भने एकातर्फ उसले सरकारी सम्पत्तिको सही सदुपयोग गर्ने सम्भावना बढी हुन्छ भने अर्को तर्फ बिकास योजनाहरु सफल पार्नमा उसको व्यक्तिगत सफल जीवनको अनुभवले ठुलो काम गर्दछ। जे सुकै भए पनि राजनीतिक पार्टीको झोले मात्र भएको, आफ्नो कुनै खास पेशा व्यबसाय नभएको, आय आर्जनको कुनै भरपर्दो श्रोत नभएको र कुनै अपराध वा समाजमा विवादास्पद कार्य गरी कुनै राजनैतिक व्यक्तिको इशारामा प्रशासनिक दवाव दिएर छुटेको व्यक्तिलाई कदापी जनप्रतिनिधीको रुपमा छान्नु हुँदैन। ह्य्या! मैले दिएर पनि केही हुने होइन नदिएर पनि केही हुने होइन भनेर चुनावको दिनमा घरमै बस्ने काम त झन गर्नै हुन्न। सबै खराब नै रहेछन भने पनि खराब मध्यको कम खराबलाई छान्नै पर्छ। नत्र भने सबै भन्दा बढी खराबले बाजी मार्ने मौका पाउंछ।

अहिलेसम्म वा यस अगाडिका कसैले गरेको काम मन परेको थियो भने त्यसैलाइ निरन्तरता दिनु। मन परेको छैन भने नयाँलाई मौका दिनको लागि पनि तपाईंको मतको महत्वपूर्ण भूमिका छ। तसर्थ, सचेत मतदाताको हैसियतले मतदानमा सहभागी भै निर्वाचन मार्फत राजनैतीक दलका वा स्वतन्त्र उम्मेदवारलाई प्रतिनिधिको रुपमा छनौट गरी देशको राजनीतिलाई सही दिशा निर्देश गर्नमा मद्दत गरौं। जय नेपाल !!!

राजेन्द्र शर्मा (नेपाल प्रेमी) सामाजिक अभियन्ता साथै  जनसम्पर्क समिती, नेदरल्याण्ड्सका निवर्तमान महामन्त्री समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *