नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्डसको अधिवेशन सम्पन्न, जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।

नेदरल्याण्डस  ।

नेपाली भाषा, साहित्य, संगीत, कला तथा संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन् २००८ मा स्थापना भएको नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्डसले यही सेप्टेम्बर २१ तारीख आइतबारका दिन आफ्नो छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। यस अधिवेशनमार्फत संस्थाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि नयाँ योजनासमेत सार्वजनिक गरेको छ।

अधिवेशनबाट सर्वसम्मत निर्णयअनुसार शरद जोशी अध्यक्ष, रश्मिता पराजुली महासचिव, सुजन बेलबासे कोषाध्यक्ष र अम्बिका गिरी सचिवमा निर्वाचित भएका छन्। यसैगरी, विक्रम खड्का, रमिला श्रेष्ठ, प्रदीप राज न्यौपाने, सरोज ढकाल गिरी र सरस्वती आचार्य सदस्यका रूपमा निर्वाचित भएका छन्। निर्वाचन संयोजक शशि पौड्यालले नतिजा घोषणा गर्दै नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गरेका थिए। यो नयाँ नेतृत्वलाई संस्थाका पूर्वअध्यक्षहरू, वरिष्ठ सल्लाहकार तथा समुदायका प्रतिनिधिहरूले स्वागत गर्दै, अनुभव र युवाको ऊर्जाको मिलनले संस्थालाई अझै अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्। अधिवेशनकै अवसरमा संस्थाको गत यात्रा स्मरण गरिएको थियो।

विशेषगरी सन् २००९ मा तत्कालीन डच रानी बिआट्रिक्सलाई नेपाली संगीत र नृत्य प्रस्तुत गरिएको ऐतिहासिक क्षणलाई विशेष रूपमा स्मरण गरिएको थियो। यसलाई संस्थाले नेपालको कला र संस्कृति अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। फाउण्डेशनले केवल संगीत र कला मात्र नभई शिक्षा र संस्कृतिको क्षेत्रमा पनि उल्लेखनीय योगदान गर्दै आएको छ। हाल संस्थाले आम्स्टरडाम र पुर्मेरेंदमा गरी दुईवटा नेपाली विद्यालय सञ्चालन गर्दै आएको छ। विद्यालयमा बालबालिकाहरूलाई नेपाली भाषा कक्षा, संगीत कक्षा, साथै स्वास्थ्य र आत्म–अनुशासनका लागि योग–ध्यान कक्षा सञ्चालन गरिन्छ। साथै, नेदरल्याण्डसमा हालसालै आएका नेपाली समुदायका लागि डच भाषा कक्षा पनि सञ्चालन हुँदै आएको छ, जसले समुदायलाई स्थानीय समाजमा घुलमिल हुन मद्दत पुर्याएको छ। अधिवेशनपछि नेपाली स्कुल नेदरल्याण्डसको खुला कार्यक्रम (Open Day) आयोजना गरिएको थियो। सो कार्यक्रमको प्रमुख आतिथ्यता आम्स्टरडाम नर्थका मेयर ब्राहिम आबिद (Brahim Abid) ले ग्रहण गरेका थिए। कार्यक्रममा विद्यालयका गतिविधिहरू प्रस्तुत गरिनुका साथै नयाँ शैक्षिक वर्ष २०२५/२६ का लागि भर्ना खुला गरिएको घोषणा पनि गरिएको थियो।

कार्यक्रमको सञ्चालन राजेन्द्र कुमार शर्माले गरेका थिए। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायका प्रतिनिधिहरू हरुका साथै विभिन्न संघ संस्थाकाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा विद्यालयप्रति बढ्दो विश्वास, बालबालिकाको सक्रिय सहभागिता र समुदायको निरन्तर सहयोग प्रति आभार व्यक्त गरिएको थियो। नेपाल म्युजिक फाउण्डेशनले भविष्यमा अझ व्यापक रूपमा नेपाली कला, साहित्य, संगीत र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरेको छ। यसका लागि कार्यशाला, सं-गोष्ठी, सांगीतिक प्रस्तुति र सांस्कृतिक उत्सवहरू आयोजना गर्ने प्रतिबद्धता गरिएको छ। साथै, नयाँ पुस्तालाई आफ्नो भाषा, पहिचान र संस्कृतिसँग जोडि राख्ने कार्यलाई निरन्तरता दिने घोषणा पनि गरिएको छ। अधिवेशनमा वक्ताहरूले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै, संस्थाको उदेश्यलाई अझ सशक्त बनाउन शुभकामना दिएका थिए। समुदायले गरेको समर्थन र सहभागिताले नै संस्थालाई यो स्तरसम्म ल्याएको भन्दै सबैलाई हार्दिक धन्यवाद व्यक्त गरिएको थियो। नेपाल म्युजिक फाउण्डेशनले विदेश भूमिमा नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न मात्र होइन, आपसी सम्बन्ध मजबुत बनाउने र आगामी पुस्ताका लागि गौरवपूर्ण पहिचान निर्माण गर्ने अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Share