नेपाली व्यवसायी संघ नेदरल्याण्ड्सको ऐतिहासिक निर्णय सहित बैठक सम्पन्न

नेदरल्याण्ड्स। २३ मार्च नेपाली व्यवसायीहरूको हक, हित र सहयोगको लागि स्थापित संस्था नेपाली व्यवसायी संघ नेदरल्याण्ड्स -भीनोन (Vereniging van Nepalese Ondernemers in Nederland -VNON) ले आफ्नो बार्षीक साधारण सभा पश्चात निर्वाचित नयां कार्य समितिको पहिलो औपचारिक बैठक सम्पन्न गरेको छ।

अध्यक्ष जीएन देवकोटा(अमिर)को अध्यक्षतामा बसेको उक्त पहिलो कार्यकारी बैठकले नेदरल्याण्ड्समा रहेका नेपाली उद्यमीहरूको हक, हित र सहयोगका लागि थुप्रै महत्वपूर्ण साथै ऐतिहासिक निर्णयहरू गरेको महासचिव आरके सुबेदीले जानकारी गराएका छन् । बैठकले भविस्यमा छिट्टै नै एक बृहत कार्यक्रमको आयोजना गरि भीनोन व्यापार दिवस (VNON Business Day) मनाउने निर्णय गरेको छ भने उक्त दिवसमा नेदरल्याण्डमा रहेका सफल देश विदेसका उद्यमीहरू, सरकारी प्रतिनिधीहरू र बिशिष्ट व्यक्तिहरूको उपस्थिती रहने जानकारी संघको सचिवालयद्वारा प्राप्त भएको छ।

सचिवालय महासचिव आरके सुवेदीले नेपाली व्यवसायीहरूको हक, हित, सहयोग र प्रवर्दनका लागि भीनोनले बृहत कार्ययोजनाहरू ल्याएको बताएका छन्। जस अनुसार भीनोनले आगामि भविष्यमा उद्यमीहरूको लागि डिजिटल प्रविधिको बिकास र बजार व्यवस्थापन गर्न सहयोग गर्ने, ग्यास र बिजुली जस्ता वस्तुहरूमा सामूहिक छुटको लागि पहल गर्ने, उद्यमीहरूको खरिद-बिक्रीलाई सहजीकरण गर्न नेपाल डिलर होमको स्थापना गर्ने आदि प्रमूख कार्यहरू गर्ने छ। उक्त बैठकले बीस हजार यूरो (€20,000) प्रारम्भिक  पूजी रहेको “भीनोन अक्षय कोषको” स्थापना गरेर एक ऐतिहासिक निर्णय समेत गरेको छ। भीनोनका अनुसार उक्त रकम भीनोनमा सदस्य रहेका नेपाली उद्यमीहरूलाई आवस्यकता अनुसार सहुलियत ब्याजदरमा लगानी गर्न ऋण सहयोग स्वरूप प्रदान गरिनेछ।

भीनोन अक्षयकोषमा सबै उद्योगी-व्यवसायीहरूको सहयोगको अपेक्षा रहेको र हालसम्म सहयोग गर्ने दाताहरू निम्न अनुसार रहेको जानकारी अध्यक्ष देवकोटाले दिएका छन्ः

१. नेपाली व्यवसायी संघ भीनोन – €५००, २. शशी पौड्याल – € ५००, ३. जीएन देवकोटा – € ५००, ४. हिमाल ओझा – € ५००, ५. सुमन काफ्ले – € ५००, ६. आरके सुवेदी – € ३००, ७. डिल्ली कडेल – € १००, सहित अन्य सहयोगी व्यवसायीहरुको सहयोग  क्रमस पछि थप हुनेगरी रहेको जनाइएको  छ | 

बैठकले आफ्नो संरचना विस्तारका लागि नेदरल्याण्ड्सका  सफल नेपाली व्यवसायी तथा सामाजिक अभियन्ता शशी पौड्याल प्रमुख संरक्षक रहने र हरेक निवर्तमान अध्यक्षहरू स्थायी सदस्य रहने गरी स्थायी रूपको भीनोन संरक्षण परिषद गठन गरेको छ।

यसै गरि नेदरल्याण्ड्समा रहेका नेपाली तथा भूटानी सफल व्यवसायीहरू र गैर-राजनीतिक सामाजिक अभियन्ता एवं उच्च दक्ष विद्वानहरू सम्मिलित एक बिशिष्ट भीनोन सल्लाहकार परिषद समेत गठन गर्ने जानकारी दिईएको छ। अन्यमा भीनोनको नयाँ  कार्य समितिले थालेका यी रचनात्मक एवं ऐतिहासिक कार्यक्रमहरूलाई सबै नेदरल्याण्ड्सबासी नेपाली उद्यमी व्यवसायीहरूको साथ, सहयोग र समर्थन मिल्नेछ भन्ने विस्वास लिएको कुरा अध्यक्ष देवकोटाले बताएका छन्।

Share