चर्चित कलाकार लामाको निधन, कलाकार लगायत सम्पूर्ण नेपाली समाज स्तब्ध

काठमाडौँ  |  नेपालका चर्चित कलाकार लोक गायक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको निधन भएको छ | आफ्नै घरको आँगनमा गाडीबाट ओर्लने क्रममा फेब्रुवरी २३ तारिख बिहान करिब ३ बजे निधन भएको हो  | हाँस्य तथा अभिनयमा अब्बल कलाकार लामाको निधनले कलाकारिता क्षेत्र स्तब्ध भएको छ |

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका लामाको ६६ बर्षको उमेरमा निधन भएको हो |

बा३च ७७४१ नंको आफ्नो निजी कार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेर बाहिर निस्कने क्रममा खुट्टा गाडीमा अड्किएर शरीर ढोका बाहिर हुँदा नजिकैको भित्तामा ठोक्किए पछी अत्याधिक रक्तश्राप भइ कलाकार लामाको निधन भएको पारिवारिक श्रोतले जनाएको छ | शरीर बाहिर निस्किएर घोप्टो परेको अवस्थामा नजिकैका छिमेकीले देखेपछि बिहानै परिवारलाई जानकारी गराएका थिए |

विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेका कलाकार लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशन समेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका लामाले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।

लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल रहेका थिए । चर्चित गित ‘कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’गाएर निकै चर्चा बटुली सकेका लामाले ‘पानी प-यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लामाका चर्चित, लोकप्रिय लोकगीतहरु अझै पनि नेपाली मानसपटलमा उत्तिकै लोकप्रिय छन् ।

कलाकार लामा संगीतका गुरुपनि भएकाले बिभिन्न बिध्यालयहरुमा संगीत गुरुको रुपमा क्रियाशिल थिए | बिहानै प्रहरीले लामाको शवलाई पोष्टमार्टमको लागि दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज लगेको र शव परीक्षणपछि उनकै निवासमा लामा धार्मिक परम्परा अनुसार संस्कार गरि अन्तिम श्रद्धाञ्जलिका लागि प्रज्ञा भवनमा राखिने र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लामाको परिवारिक् श्रोतले जानकारी गराएको छ । कलाकार लामाको श्रीमती र दुई छोरा छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *