एनआरएनएको १०औं महाधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित

काठमाण्डौं,  गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी अक्टुबर २३-२५ मा हुने भनिएको १०औं अन्तराष्ट्रिय महाधिवेशन, निर्वाचन र गैर आवासीय नेपालीहरुको विश्व सम्मेलन स्थगित भएको छ |

संघका प्रवक्ता डीबी क्षेत्री द्वारा प्रकाशित प्रेस बिज्ञप्ति अनुसार संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालयको १० अक्टुबर आइतबार भर्चुयल माध्यमबाट बसेको बैठकले ६ महिना भित्रै गर्ने गरि स्थगित गरिएको निर्णय गरेको जनाएको छ | परराष्ट्र मन्त्रालयको पत्रका सम्बन्धमा उठेका प्रतिनिधि विवादलाई मध्यनजर गर्दै बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्व निर्धारित कार्यक्रम स्थगित गर्नुपरेको बिज्ञप्तिमा जनाइएको छ |

बिशेस सुत्रका अनुसार पराराष्ट्रले पठाएको निर्देशनात्मक चिठ्ठी अध्यक्ष कुमार पन्तसंग मात्रै रहेको र उक्त चिठ्ठीको भाव मात्रै अन्य सदस्यहरुलाई उपलब्ध गराइएको छ । उक्त चिठ्ठीमा खासगरी महाधिवेशन प्रतिनिधीको ६५ प्रतिशत छनोट सम्बन्धित देशको नयाँ राष्ट्रिय कार्यसमितिले छनोट गनुपर्ने, जुलाई १ देखि ३१ भित्र निर्वाचन नभएका देशहरुको चुनाव पुनरावलोकन गर्नुपर्ने तथा विद्यार्थीहरु सदस्य बनेका देशमा सदस्यता पुनरावलोकन गनुपर्ने निर्देशन परराष्ट्रले दिएको छ |

अन्तराष्ट्रिय समन्वय समितिको यहि अक्टुबर १८ तारिख कार्यकाल सकिदै छ | विधान अनुसार  विशेष परिस्थितीमा कार्यसमितिको म्याद ६ महिनासम्म लभ्याउन सक्ने प्रावधान छ । अधिवेशन सार्ने निर्णय र अर्को मिति तय गर्नका लागि अक्टोरब १७ तारिखमा अन्तराष्ट्रिय समन्वय समिति आइसिसिको बैठक ठाकिएको छ । एनआरएनएको विधान नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता छ । महाधिवेशन प्रतिनिधी छनोटमा अनियमितता भएको भन्दै पराराष्ट्रमा उजुरी परेको थियो ।

प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक १० अक्टोवर २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बस्यो । गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भयो । बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरि थप निर्णय गरिने जानकारी गराइन्छ।

गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आइसक्नु भएका र आउन तयार रहनु भएका प्रतिनिधिहरुमा पुगेको असुविधाप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ ।

अन्त्यमा,विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुलाई विजया दशमी, दीपावली र छठ पर्वको मंगलमय शुभकामनासहितअक्टोबर ११ मा परेको गैरआवासीय नेपाली दिवसको शुभकामना व्यक्त गर्दछौँ।

डिबि क्षेत्री,
प्रवक्ता
गैरआवासीय नेपाली संघ

११ अक्टोबर २०२१

Share