काठमाडौं, नेपाल पत्रकार महासंघमा बिपुल पोख्रेल को प्यानल विजयी भएको छ। निर्वाचन समितिकाअनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोख्रेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन्।
पोख्रेल प्यालनकै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा वाला अधिकारी र महासचिबमा रोशन पुरी बिजयी भएका छन्।
यस्तै खुला सचिवमा गोविन्द चौलागाई, एशोसिएट सचिवमा पवन आचार्य, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बु, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्।
अध्यक्षमा नेकपा एमालेको ओली समूहनिकट प्रेस चौतारी, जनता समाजवादीनिकट प्रेस मञ्च, विप्लवनिकट जनपत्रकार संघलगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो। त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए।
पोख्रेलले ६ हजार ९४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी थिइन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन्।
महासंघको चुनावमा कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चासहित ११ वटा दल आबद्ध पत्रकारहरु गठबन्धन उम्मेदवार बनाएर निर्वाचनमा सहभागी थिए । सो गठबन्धनको प्यानलबाट केन्द्रीय कार्य समितिमा तीन सदस्यबाहेक सबैले जितेका छन्।
जितपछि पोख्रेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिबद्धता जनाएका छन्। शनिबार सबै जिल्लाको मतगणना सकिएको र आफ्नो जित भएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनै पनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताए। श्रमजीवी पत्रकारहरुको हक हितका मुद्दाहरूलाई अगाडि लैजाने सम्बन्धमा आफूले कहीँ कतै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छाया पर्न नदिने प्रतिबद्धता ब्यक्त गर्दै महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताएका छन् ।