पत्रकार महासंघ बेल्जियम शाखाको अध्यक्षमा शर्मा चयन ।

बेल्जियम , नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको अप्रिल ६ तारिखको निर्वाचनबाट ओम शर्माको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा निलम धिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमस: शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष न्यौपाने निर्वाचित भएका छन् ।

गत मार्च महिनाको ३ तारिख बेल्जियम शाखाको पहिलो अधिवेशन सम्पन्न भएको थियो भने केन्द्रको निर्देशन अनुसार अप्रिल ६ तारिख मंगलबार नयाँ कार्यसमिति चयन भएको हो।

नवनिर्वाचित कार्य समितिलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले पद तथा गोपनियताको शपथ गराएका थिए । उनले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुनेमा बराइलीको आसय थियो ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि भगीरथ योगीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता गरिरहनु वास्तवमै चुनौतीपूर्ण रहेको बताए । उनले अहिले सबैको हातहातमा स्मार्ट फोन रहेकाले मल्टीमिडियासंग परिचित हुन र आफ्नो सीप विकास गर्न सुझाव पनि दिए ।

निर्वाचन समितिको संयोजकमा पत्रकार महासंघ युरोप शाखाका पुर्व अध्यक्ष महेश थापा थिए । कार्यक्रममा युरोप लगायत बेलायतका पत्रकारहरु समेतको सहभागिता थियो |

शाखाका नवनिर्वाचित अध्यक्ष ओम शर्माले आगामी दिनमा सबै साथीहरुको साथ र सहयोग लिएर आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरे। नेपाल पत्रकार महासंघ बेल्जियम शाखा सदस्य शेरबहादुर छन्त्यालले कार्यक्रम संचालन गरेका थिए |

Share