नेप्लिज बिजनेस एसोसिएसनको साधारण सभा सम्पन्न, मिलन टी. श्रेष्ठ पुनः अध्यक्षमा सर्वसम्मत चयन ।

कोपेनहेगन, डेनमार्क ।

नेप्लिज बिजनेस एसोसिएसनको वार्षिक साधारण सभा शनिबार कोपेनहेगनमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै संस्थापक अध्यक्ष मिलन टी. श्रेष्ठलाई पुनः अध्यक्षको जिम्मेवारी सर्वसम्मत रूपमा सुम्पिएको छ। संस्थाको निरन्तरता, स्थायित्व र प्रभावकारी नेतृत्वलाई ध्यानमा राख्दै साधारण सभाले सर्वसम्मत निर्णयमार्फत मिलन टी. श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गरेको हो। सभामा उपस्थित सदस्यहरूले उहाँको नेतृत्व क्षमता, समर्पण र संस्थाप्रति पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पुनः विश्वास व्यक्त गरेका थिए।

साधारण सभाबाट चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा मिलन टी. श्रेष्ठ, उपाध्यक्षमा शशी श्रेष्ठ, महासचिवमा किशोर प्रसाई (निरज), सचिवमा सुवर्ण गौतम, कोषाध्यक्षमा बबि क्षेत्री, लेखा निरिक्षकमा नबिन राज पौडेललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा क्रमस: कृष्ण अधिकारी, बुद्धि सापकोटा, सिता विश्वकर्मा, पुनम श्रेष्ठ, प्रकाश बिष्ट, प्रकाश श्रेष्ठ, योगेश भट्टराई, सुबास ढुंगाना, सन्जिब साम गिरी र अनु अधिकारीलाई चयन गरिएको र आवश्यकता अनुसार कार्यसमितिले थप सदस्य मनोनयन गर्न सक्ने निर्णयसमेत गरिएको छ।

साधारण सभामा संस्थाको हालसम्मको गतिविधि, उपलब्धि तथा भावी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा लेखा निरिक्षक नबिन राज पौडेल, सदस्य बुद्धि सापकोटा, पूर्व महासचिव कृष्ण अधिकारी, उपाध्यक्ष शशी श्रेष्ठ, कोषाध्यक्ष बबि क्षेत्री, सचिव सुवर्ण गौतम तथा महासचिव किशोर प्रसाईले आ–आफ्नो मन्तव्य राख्दै संस्थाको भूमिका, आवश्यकता र उपयोगिताबारे धारणा व्यक्त गरेका थिए।

उपाध्यक्ष शशी श्रेष्ठले आफ्नो मन्तव्यमा डेनमार्कस्थित नेपाली राजदूतावाससँग नजिकको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नर्डिक मुलुकहरू तथा अन्य युरोपेली देशहरूमा रहेका नेपाली व्यवसायीहरूसँग समन्वय विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) लगायत नेपालका विभिन्न व्यावसायिक संस्थाहरूसँग सहकार्य गर्दै संस्थागत रूपमा अघि बढ्न सके नेपाली व्यवसायीहरूको हित र अवसर अझ सुदृढ हुने धारणा व्यक्त गर्नुभयो। वक्ताहरूले नेप्लिज बिजनेस एसोसिएसन नेपाली व्यवसायीहरूलाई एकजुट बनाउने साझा मञ्चका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा व्यवसायिक सहकार्य, सूचना आदान–प्रदान, नेटवर्क विस्तार तथा आपसी सहयोगलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याएका थिए।

संस्थाको सफलता सबै सदस्यहरूको सक्रिय सहभागितामा निर्भर रहनेमा पनि जोड दिइएको थियो। यसै क्रममा साधारण सभाले एक महत्वपूर्ण नीतिगत निर्णयसमेत गरेको छ। संस्था विकासोन्मुख चरणमा रहेकाले आगामी दिनमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू राउण्ड टेबल प्रणालीमा सञ्चालन गरिने तथा खातामाला वा विशेष मञ्चको व्यवस्था नराखिने निर्णय गरिएको छ। यस निर्णयले संस्थाभित्र समानता, पारदर्शिता, सहभागिता र सहकार्यको संस्कारलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

पुनः अध्यक्षमा चयन भएपछि मिलन टी. श्रेष्ठले सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा संस्थालाई अझ व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नयाँ कार्यसमितिसँग सहकार्य गर्दै नेपाली व्यवसायीहरूको हकहित, एकता र व्यवसायिक प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागी सदस्यहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै नेप्लिज बिजनेस एसोसिएसनको उज्ज्वल भविष्यको कामना गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *