अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको नवौ युरोप क्षेत्रीय कार्यक्रम भब्य रुपमा पेरिसमा हुँदै ।

नेदरल्याण्ड्स ।

आगामी मे महिनाको ११ र १२ तारिकका दिन फ्रान्सको राजधानी पेरिसमा युरोप महादेशकै एक बृहत कार्यक्रमको रुपमा हेरिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको नवौ युरोप क्षेत्रीय कार्यक्रम भब्य रुपमा हुने भएको छ | इनास ग्लोबलले गत वर्ष जर्मनीको म्युनिखमा सम्पन्न आठौँ क्षेत्रीय कार्यक्रमका बखत निर्णय गरे बमोजिम इनासको नवौं क्षेत्रीय कार्यक्रम आयोजनाको जिम्मेवारी फ्रान्सलाई दिने निर्णय गरे बमोजिम यसपटकको कार्यक्रम पेरिसमा हुन लागेको हो।

इनासका ग्लोबल प्रवक्ता समेत रहेका युरोप संयोजक प्रकाश तिवारीले जानकारी गराए अनुसार इनास युरोप क्षेत्रीय समिति तथा राष्ट्रिय समिति फ्रान्सको आयोजनामा दुई दिन सम्म चल्ने यस कार्यक्रममा युरोपका विभिन्न मुलुकहरुबाट ठूलो संख्यामा इनासका प्रतिनिधिहरु , कलाकारहरु र स्थानीय संघ-संस्था तथा निकायका पदाधिकारीहरुको समेत सहभागिता रहने छ। संस्थाको क्षेत्रीय बैठक र सांस्कृतिक कार्यक्रम सहित दुई दिनसम्म चल्ने यस कार्यक्रमको पहिलो दिन इनास युरोपको नवौं क्षेत्रीय बैठक हुने र दोश्रो दिन युरोप र अन्य देशहरुबाट आउने कलाकारहरुको प्रस्तुति सहित युरोप महादेशस्तरीय नवौं एकल नृत्य र छैठौं एकल गायन प्रतियोगिता हुने उनले जानकारी गराए।

आयोजक राष्ट्र इनास फ्रान्सका अध्यक्ष आभाष आचार्यका अनुसार युरोप महादेशकै एक विशाल कार्यक्रमको रुपमा आयोजना हुने यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आयोजकका तर्फबाट तयारीलाई समेत तिव्ररुपमा अघि बढाइएको जानकारी गराएका छन । बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड्स, ईटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, माल्टा, फिनल्याण्ड, स्विटजरल्याण्ड, चेक गणतन्त्र, नर्वे, आइसल्याण्ड लगायतका मुलुकहरुबाट ठूलो संख्यामा कलाकार, साहित्यकार, पत्रकार, नेपाल सरकारका प्रतिनिधिहरु, युरोपस्थित नेपाली कुटनैतिक निकायका पदाधिकारीहरु, गैर-आवासीय नेपाली संघ लगायत अन्य संघ-संस्थाका पदाधिकारीहरु र अन्य महादेशहरुबाट इनास र अन्य संघ संस्थाका प्रतिनिधिहरुको ठूलो संख्यामा सहभागिता रहने यस नवौं क्षेत्रीय कार्यक्रमलाई व्यवस्थितरुपमा सम्पन्न गर्न फ्रान्सस्थित संघसंस्थाका प्रतिनिधि, व्यवसायी, मिडीयाकर्मी, युरोपस्थित इनासका सम्पूर्ण राष्ट्रिय समिति, युरोप क्षेत्रीय समिति तथा इनास ग्लोबलका पदाधिकारीहरु समेतको उपस्थितिमा आगामी महिना पेरिसमा एक प्रत्यक्ष बैठक आयोजना गरिन लागिएको जनाईएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *