मानव सेवा आश्रमको बृहद आमा सेमिनार बेलायतमा हुँदै, जस्को संयोजन साझा नेपाली समाजले गर्दै  |

बेलायत |

यहि २५, सेप्टेम्बर सोमवारका दिन बिहान ११ बजेबाट बेलायतको नटिङगहम २१५ काल्टर्र रोड,Ng3 2Fx मा रहेको हिन्दु मन्दिरमा साझा नेपाली समाजको संयोजनमा मानव सेवा आश्रमको आमा सेमिनार हुने भएको छ  | नेपालमा कोही पनि नागरिकले सडकमा आश्रित हुनु नपरोस् भन्ने मुख्य उदेश्यका साथ मानवता प्रवर्द्धन महाअभियान चलाई रहेको मानवसेवा आश्रमको सहयोगार्थ नटिङ्घममा समाजको संयोजनमा विशेष सेमिनार आयोजना हुने भएको हो।

मातृत्व र मातृभूमिको सम्मानमा गरिने सेमिनारमा सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा लागेका र आफ्नो सम्पूर्ण जीवन समाज सेवामा लगायका मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीको उपस्थितिमा हुने भएको आयोजकले जनाएको छ। सेमिनारमा सहभागी भै यो अभियानमा साथ दिनको लागी साझा नेपाली समाजले मिडलैन्डवासी नेपालीहरुलाई बिशेष अनुरोध गरेको  छ।

साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार वि सं २०६९ सालमा हेटौडामा सडकमै जीवन गुजारा गरिरहेका १८ जना बेवारिसे, अशक्त आमाबुवालाई सरसफाई र नुवाइ धुवाई गरि एउटा अस्थायी आवासमा राखेर शुरु भएको अभियान अहिले देशभरि फैलिएको छ। १७ जिल्लामा आश्रम संचालनमा छन् भने आश्रम र आश्रम अन्तर्गतका केन्द्रहरुबाट ६ हजार भन्दा बढी अशक्त बाबाआमाको उद्धार गरिएको छ, जसमध्ये २४ सयको आफ्नै परिवार संग  पुर्नमिलन भएको शर्माले जानकारी गराएका छन् ।

आश्रमका विभिन्न शाखाहरुमा हाल झन्डै १,६०० व्यक्तिहरुको रेखदेख तथा स्याहार सुसार भइरहेको छ। मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीका अनुसार सुरुवाती समयमा हामीले जसरी सहयोगका लागि अनुरोध गर्दा सहयोग प्राप्त गर्न कठिनाई हुन्थ्यो, त्यो अवस्था अहिले छैन । मनका धनी नेपालीहरुले खुसीयाली मनाउने र आफ्ना पितृहरुको स्मरण गर्ने थलोका रुपमा मानवसेवा आश्रम विकास हुँदै गइरहेको संस्थापक अधिकारीले जनाएका छन् ।

हाल मानवसेवा आश्रमले सरकारी निकाय तथा सहयोगी दाताहरुको साथ र सहयोगमा कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरी कार्यान्वयनको चरणमा छ । आश्रमले वि.सं.२०८२ साल भित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन व्यक्तिहरुको उद्धार गरि सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ । महासचिव शर्माका ले साझा नेपाली समाजले सेमिनारको संयोजन गर्ने जिम्मा कोषाअध्यक्ष उपेन्द्र पौडेलाई दिएको र संयोजकबाट सेमिनार भब्य तरिकाले सम्पन्न गर्ने तयारी गरिरहेको बताए।

Share