नेदरल्याण्ड्समा नेपालको लागि च्यारिटी साइकल यात्रा सफलतापुर्वक सम्पन्न |

नेदरल्याण्ड्स |

सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै आमा घर पाठशालाको खेलकुद मैदानलाई व्यवस्थित गर्ने उदेश्यका साथ यहि अगष्ठ २ तारिखका दिन बाल सेवा फाउण्डेशनद्वारा आयोजित च्यारिटी साईकल यात्रा नेदरल्याण्ड्सको नुनस्पेट भन्ने ठाउँमा आयोजना भएको थियो | नेदरल्याण्ड्समा रहेका लगभग ६० जना डच नागरिकहरुले उक्त च्यारिटी साईकल यात्रामा सहभागिता जनाएका थिए |

नुनस्पेटमा १०:३० बजे शुरुभएको १०० किलोमिटरको साईकल यात्रा एर्न्स्ट, भाशम, वाइन र हातम हुँदै पु:न नुनस्पेट आइपुग्दा दिउसो १५:०० बजेको थियो । जसमा १०० किलोमिटरको र ४० किलोमिटरको गरि दुईवटा साईकलको रुटहरु निर्धारित गरिएको थियो । नेपाल राष्ट्र र नेपालको पर्यटन क्षेत्रको प्रवर्धन र प्रचारप्रसारमा बिशेष टेवा पुग्ने उक्त यात्रामा डच नागरिकहरुको उत्साहजनक सहभागिताले नेपाल भ्रमण गर्नका निम्ति एकआपसमा उत्प्रेरित गर्दै प्रोत्साहन गरिरहेका थिए | उक्त च्यारिटी साईकल यात्राबाट ६००० युरो संकलन भएको नेपाल-नेदरल्याण्ड्स संयोजक तथा बोर्ड मेम्बर शशी पौड्यालले जानकारी गराएका छन् |

बाल सेवा फाउण्डेशनका अध्यक्ष मार्टिन प्राङ्गरले साईकल यात्रीहरुलाई नेपाल र आमाघर परियोजना सम्बन्धी जानकारी गराउदै यात्रा सफलताको शुभकामना ब्यक्त गरेका थिए । बालसेवा फाउण्डेशनका पुर्व अध्यक्ष रोबर्ट भन माउरिक लगायत समस्त कार्यसमितीको पनि उपस्थिती रहेको थियो । नेपाल-नेदरल्याण्ड्स संयोजक तथा बोर्ड मेम्बर शशी कान्त पौडेलले साईकल यात्रीहरुलाई संस्थागत जानकारीका साथै निम्न बर्गका नेपाली बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले साईकल यात्रामा सहभागि भएकोमा धन्यवाद दिदै आभार ब्यक्त गरेका थिए । आमाघर पाठशालालाई सफल गराउनको लागि लाईट अफ लाईफ फाउण्डेशन र नेपाल बिकास प्रतिष्ठानको सहकार्य रहेको जनाईएको छ ।

Share