पत्रकार स्व.पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकार महासंघ युरोप शाखाले गर्यो बिशेस कार्यक्रम |

नेदरल्याण्ड्स |     जनावरी २७ तारिख शुक्रबारका दिन नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा पोखरा हवाई दुर्घटनामा दिवंगत भएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य स्व. त्रिभुवन पौडेलको १३ औं पुण्यतिथिमा र उक्त दुर्घटनामा निधन भएका अन्य सबैको स्मृतिमा भर्चुअल रूपमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, बिशिष्ठ अतिथि केन्द्रीय महासचिव रोशन पुरी,अतिथिहरु केन्द्रीय सचिव सृजना अर्याल, केन्द्रीय सदस्यहरु क्रमश: रमेश खतिवडा, केसी लामिछाने, सुनिल खड्का, सरिता बराइली, राधा नेपाली, सुरजकुमार लगायत एक दर्जन भन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिति भएर स्व पौडेलको योगदानको बारेमा चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यसैगरी एनआरएनए उपहासचिव रामशरण सिंखडा, पत्रकार महासंघ युकेका पूर्व अध्यक्षहरु नरेश खपाङ्गी मगर, चिरन शर्मा, महासंघका युरोप उपाध्यक्ष दिल निशानी मगर लगायतले पनि श्रद्धाञ्जली मन्तव्य दिएका थिए ।

कार्यक्रम पत्रकार महासंघ युरोप शाखाका कार्यवाहक अध्यक्ष केजिन राईको अध्यक्षता र उपाध्यक्ष राजकुमार थापाको संचालनमा सम्पन्न भएको थियो ।

गत जनावरी १५ तारिख अर्थात् माघ १ गते का दिन काठमाण्डौबाट पोखराको लागि उडेको नाईनएन एएसी एटिआर-७२ यति जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बिचमा रहेको सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा महासंघका केन्द्रीय सदस्य पौडेल सहित ७२ जनाको दु:खद निधन भएको थियो ।

उक्त हृदयविदारक घटनाको स्मरण गर्दै प्रमुख अतिथि केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले महासंघले एउटा कर्मठ र लगनशील पत्रकार सदस्य गुमाएको उल्लेख गर्दै स्व. पौडेलको सम्झनामा कोष खडा गर्ने र वैदेशिक शाखाहरुलाई समेत सहयोग र सहभागिताको लागि अनुरोध गरेका थिए । महासंघको आकस्मिक बैठकले माघ २ गते सोमबारदेखि महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेक अन्य कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको बिशिष्ठ अतिथि महासचिव रोशन पुरीले बताएका थिए ।

भर्खरै युरोप शाखाको निमन्त्रणामा युरोप भ्रमण सकेर फर्केका स्व.पौडेल प्रवासमा रहेका पत्रकार साथीहरु मन जित्न सफल एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाउनु परेकोमा दु:ख व्यक्त गर्दै सहभागी अतिथिहरु भावुक भएका थिए ।

पत्रकार पौडेल बि.सं. २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । महासंघको गण्डकी प्रदेशको २०७४ सालमा संस्थापक अध्यक्ष रहेका पौडेल त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुई पटक सचिव भएर काम गरिसकेका थिए । पोखरा हटलाईन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेल अन्नपुर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रुपमा काम गरेका थिए । पछिल्लो समय स्व. पौडेल पोखरा हटलाईन दैनिक पत्रिकाकै प्रकाशक/सम्पादकका रुपमा कार्यरत थिए ।

Share