नेपालमा मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं ।   सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको एकै पटक निर्वाचन गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारि गराएका छन ।

निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ। यसअघि निर्वाचन आयोगले मङ्सिर २ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो। तर बुधवार सत्तारूढ गठबन्धनमा रहेका दलहरूबीचको छलफलपछिको समझदारी पश्चात मङ्सिर ४ गते निर्वाचन गर्ने निष्कर्षमा सरकार पुगेको थियो।

निर्वाचन आयोगले एकै चरणमा चुनाव गर्न सकिने बताएपछि सरकारले आगामी निर्वाचन देशैभरि एकैदिन गर्ने निर्णय गरेको हो। मतदाता नामावलीमा नाम दर्ता गराएका र १८ वर्ष उमेर पूरा भएका हरेक नागरिकले निर्वाचनमा मतदान गर्न पाउँछन्।

उम्मेदवार हुन भने २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था छ। आगामी निर्वाचनमा दुईवटा निर्वाचन प्रणालीबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन्। प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन्।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट हरेक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने एक जना उम्मेदवार निर्वाचित हुन्छन् भने समानुपातिक प्रणालीमा दलहरूले पाएको मतका आधारमा निर्वाचित हुने सांसदहरूको सङ्ख्या बाँडफाँट गरिन्छ।

अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नौवटा राजनीतिक दलबाट १६४ जना निर्वाचित भएका थिए। यसअघि २०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो।

Share