भ्रामक समाचार भन्दै बेल्जियमस्थित जातीय संघसंस्थाहरूको संयुक्त आपत्ति ।

मनिस गुरूंग, एन्टवर्पेन, बेल्जियम ।

मे १६, २०२५ गत मे १२ मा एन्टवर्पेनस्थित स्कटेन गुम्बामा भव्य रूपमा सम्पन्न २५६९औं बुद्धजयन्ती समारोह सँग सम्बन्धित एक भ्रामक समाचारप्रति बेल्जियम स्थित सातवटा नेपाली जातीय संघसंस्थाहरूले संयुक्त आपत्ति जनाएका छन्। “राजदूतले दलाइ लामाको फोटो छोप्न भनेपछि” भन्ने शीर्षकमा हिमाली सन्देश अनलाइनमा प्रकाशित समाचारप्रति गम्भीर असहमति जनाउँदै, संघसंस्थाहरूले समाचार पूर्ण रूपमा आधारहीन र अतिरञ्जित रहेको बताएका छन्।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल सरकारका बेनेलक्स क्षेत्रका लागि नेपाली राजदूत सेवा लम्सालले दलाइ लामाको तस्वीरका विषयमा एक चीन नीतिअनुसार असहज परिस्थिति सिर्जना हुनसक्ने उल्लेख गरे पनि, तस्वीर छोप्न आग्रह गरिएको थिएन भन्ने आयोजकहरूको प्रष्ट भनाइ छ। संयुक्त वक्तव्यमा भनिएको छ, “निज पत्रकार पेम्बा गेलु शेर्पा स्वयं कार्यक्रममा उपस्थित नै नरहेको अवस्थामा तथ्यहीन समाचार सम्प्रेषण गर्नु अत्यन्त निन्दनीय छ।” उक्त बुद्धजयन्ती कार्यक्रम गुम्बाको भुइँतलामा बुद्धको ब्यानरसहित भव्य र शालीन रूपमा सम्पन्न गरिएको थियो।

आयोजकहरूका अनुसार सामाजिक सञ्जाल र केही मिडियाहरूमा कार्यक्रमबारे अतिरञ्जित तथा भ्रामक विवरण फैलिनु दुःखद र भ्रामक प्रवृत्तिको परिचायक हो। संयुक्त रूपमा वक्तव्य जारी गर्ने संस्थाहरूमा तमु समाज बेल्जियम, शेर्पा किदुग बेल्जियम, विश्व मगर संघ बेल्जियम, तामाङ समाज बेल्जियम, पासा पुचः बेल्जियम र थकाली सेवा समिति बेल्जियम  रहेका छन्। संस्थाहरूले आगामी दिनमा यस्ता अतिरञ्जित र अनाधिकारिक समाचार सम्प्रेषण नगर्न सबै पक्षलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *