नेदरल्याण्ड्सको राजधानी आमस्टरडाम बन्यो नेपालमय, अपार सफलताका साथ “नेपाल डे” सम्पन्न |

नेदरल्याण्ड्स |
यहि सेप्टेम्बर १० तारिख आईतबारका दिन  नेपाल र नेदरल्याण्ड्स बिचको मैत्री सम्बन्धलाई प्रगाढ पार्दै नेपालको कला, संस्कृति, पर्यटन र व्यापारको प्रवर्धन गर्ने उदेश्यले नेदरल्याण्ड्सको राजाधानी आमस्टरडाममा आयोजित ‘नेपाल डे’ कार्यक्रम भव्य रुपमा सफल भएको छ । कार्यक्रममा आमस्टरडाम नगरपालिका, नेपाली राजदूतावास र नेपाली वाणिज्य दूतावासको सहकार्य साथै सहभागिता रहेको थियो । व्यापारी तथा च्यारिटी संस्थाहरुले कार्यक्रम हलको वरिपरी स्टलहरु राखि आ-आफ्नो नेपाली वस्तुहरुको व्यापार, पर्यटन र संस्थागत प्रवर्धन गरिरहेका थिए भने हल बाहिर हिमालय किचन रेस्टुराँले नेपाली खानाको व्यवस्था गरिरहेको थियो । आमस्टरडाम नगरपालिकाको प्रतिनिधित्व गर्दै श्रीमती एर्ना बेर्तन्सले नेपाली समुदाय र डच समुदाय बिचको सम्बन्धलाई मजबुत बनाउन “नेपाल डे” ले टेवा पुर्याउने कुरा झल्काउदै नगरपालिकाले नेपाली समुदायको हित र उत्थानमा सहकार्य गर्ने अवसरहरु खुलाएको बताएकी थिइन ।

अपरान्न १:०० बजे बेनेलक्स कालागि महामहिम नेपाली  राजदूत गहेन्द्र राजभण्डारी, महावाणिज्य दूत कास द स्टोपलार र कार्यक्रम संयोजक शशी पौड्यालद्वारा संयुक्त रुपमा पानसमा बत्ती बाली कार्यक्रम समुद्घाटन भएको थियो । उद्घाटन लगत्तै नेपाली राष्ट्रिय गान, उद्घाटन नृत्य र स्वागत मन्तव्यहरु प्रस्तुत गरिएको थियो। बेनेलक्स र यूरोप मिसनका महामहिम राजदूतले ‘नेपाल डे’ कार्यक्रम नेपाल र नेदरल्याण्ड्स बिचको मैत्री, व्यापारिक, पर्यटकिय र परोपकारी क्षेत्रको लागि महत्त्वपूर्ण हुने बताउदै नेपाली राजदूतावासको तर्फबाट आयोजक संस्थालाई धन्यवाद पनि ज्ञापन गरेका थिए । नेदरल्याण्ड्सका लागि महाबाणिज्य दुत कास द स्टोपलारले नेदरल्याण्ड्सको राजाधानी आम्स्टर्डाममा महान कार्यक्रम आयोजना भएको हुँदा खुशी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रम संचालिका शर्मिला प्रधानले आयोजकको तर्फबाट स्वागत मन्तव्य सहित कार्यक्रमको रुपरेखा, लक्ष्य, उद्देश्य र सहकार्यको लागि अग्रिम धन्यवाद पनि ब्यक्त गरेकी थिईंन ।

गौतम बुद्धको आदर्श विद, लेखक तथा भज्र फाउण्डेशनका संस्थापक मार्टन ओल्टहोफले आफ्नो बक्तव्यमा आफुले गौतम बुद्धले गरेको तिर्थयात्रा आफूले पनि गरेको र त्यसको बारेमा किताव प्रकाशन गरेको जानकारी गर्दै भज्र फाउण्डेशन माफर्त शिक्षा र स्वास्थ्यको क्षेत्रमा दर्जनौ परियोजनाहरु नेपालमा सफलता पुर्वक सम्पन्न गरेको बताएका थिए । मार्टन ओल्टहोफको मन्तव्य पश्च्यात सिङ्गिङ बोल प्रशिक्षिका सावु पौडेलले दर्शकहरुलाई सिङ्गिङ बोल मेडिटेसन सानोद कुलुको साथमा दिएकी थिइन् ।

हिन्दू तथा बुद्ध संस्कारको एक अविछिन्न अङ्गको रुमपा रहेको परम्परालाई डच दर्शकहरुको माझमा पुर्याएर आत्माशान्ती र परम आरामदायिताको अनुभुती दिलाउन सफल भएको यस सेसनको धेरै प्रसंशा पनि सुनिएको थियो । नेपालको संस्कारबाट नेपालको प्रकृतिमा दर्शकहरुलाई लैजाने हेतुले सिङ्गिङ बोल सेसन सकिने बित्तिकै विल्को भन रोइयन को बिना अक्सिजन माउन्ट एभरेष्ट आरोहण गरेको डकुमेन्टरी प्रदर्शनी गरिएको थियो । चुनौतीपूर्ण र खतरनाक आरोहणले दर्शकहरुलाई माउन्ट एभरेष्टको प्राकृतिक शक्ती र सौन्दर्यतामा डुबाइरहेको देखिन्थ्यो ।

कार्यक्रमको बिचबिचमा नेपाली सांस्कृतिक विविधता झल्किने गरि तामांग समुदाय लगायतको नृत्य र संगीतको प्रस्तुतिले दर्शकहरुलाई नेपाली रङ्गिन संस्कृतिमा ढाली रहेको पाइन्थ्यो । नेपाली समुदायलाई लक्षित गर्दै शशी पौड्यालले नेपाली समुदाय नेदरल्याण्ड्सको समुदायमा राम्रैसँग भिज्न सफल भएको, गैरआवासिय नेपालीहरुले व्यवसायिक सफलता हासिल गरेको र दोस्रो पुस्ताका वालवालिकाहरुले नेदरल्याण्ड्समा शैक्षिक सफलता हासिल गरेको बताएका थिए । मन्तव्यकै क्रममा आमस्टरडाम नगरपालिका नोर्थ कि पूर्व-सभापति एर्ना बेरन्सले नेपाली समुदाय प्रति गर्व गर्दै नगरपालिकाले नेपाली समुदायलाई साथ र सहयोग गर्न पनि तयार भएको बताउदै “नेपाल डे” जस्तो गरिमामय कार्यक्रममा बोल्न र प्रतिनिधित्व गर्न पाउदा खुशी पनि व्यक्त गरेका थिए ।

नेदरल्याण्ड्सको भूमिबाट नेपाल र नेपालीको समुन्नति, समृद्धी र नेपालको पहिचानमा बिशेष योगदान पुर्‍याउनु भएका विशिष्ट ब्यक्तित्वहरुलाई नेपाली राजदूतावासले सम्मानित गर्ने कार्यक्रम बास दे नाइस र सुर्य राज गिरीबाट सन्चालित भएको थियो । सम्मानित ब्यक्तित्वहरुमा अनिश गिरी, मार्टन ओल्टहोफ, डा. निरन्जन ढकाल, रोबेर्ट भन माओरिक, डा. बाल गोपाल श्रेष्ठ, मार्लिस बेक्स, डा अर्बिन्दमान तुलाधर, विल्को भन रोइयन, डि पि शर्मा मैनाली , काच्या स्तार्च्यस, शर्मिल शर्मिला, हेन्क होख्हाउस, शारदा बराइली, रेनात स्वार्च, हरी पौडेल र शशी पौड्याल रहेका थिए । सामाजिक, बैज्ञानीक, खेलकुद तथा परोपकारी क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्नु भएकोले महामहिम राजदूतको हातबाट उहाँहरुलाई प्रमाणपत्र सहित मायाको चिनोले सम्मानित गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा पुन: सिङ्गो नेपाली संस्कृति झल्किने गरि विभिन्न कलाकारहरुले संगीत, नृत्य र जातीय तथा सामूदायिक भेषभूषा प्रदर्शनी गर्दै “नेपाल डे” कार्यक्रमको समाप्त गरिएको थियो। कार्यक्रममा मन्च तथा कलाकार व्यबस्थापन सावु पौडेलबाट भएको थियो भने प्रविधि व्यवस्थापन शरद जोशी र राजेन्द्र शर्मा(नेपाल प्रेमी)बाट भएको थियो। “नेपाल डे” कार्यक्रम २०२३ लाई विधिवत रुपमा समापन गर्दै कार्यक्रम संयोजक शशी पौड्यालले आयोजक संस्थाहरु, नेपाली राजदूतावास, आम्स्टर्डाम नगरपालिका र फण्ड फोर नोर्थ साथ र सहयोगको लागि आभार व्यक्त गरेका थिए ।

कार्यक्रमको शुरु देखि अन्त्यसम्म अहोरात्र खटेर काम गर्ने स्वयंसेवकहरु, उपस्थित महानुभावहरुका साथै बिभिन्न, संघसंस्थाका प्रतिनिधिहरु, कलाकार, पत्रकार, वुद्दिजिवी, सामाजिक व्यक्तित्वहरुमा सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै सम्मानित सम्पूर्ण बिशिष्ट व्यक्तित्वहरुलाई हार्दिक बधाई ज्ञापन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *