एनआरएन केन्द्रीय महासचिव पदमा बेल्जियमका गौतमको उम्मेदवारी घोषणा |

बेल्जियम  |

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११औं महाधिवेशनमा एनआरएनए बेल्जियमका पुर्व अध्यक्ष गंगाधर गौतमले बर्ष २०२३-२५ कार्यकालका लागि केन्द्रीय महासचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् | १८ बर्षको लामो गैर आवासीय नेपाली अभियानमा समर्पित रहेर एनआरएनए भित्रको शुद्दिकरण, पारदर्शिता लगायत अन्य समावेशी एनआरएनको मुद्धाहरु अघि सार्दै गौतमले केन्द्रीय महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

राजनीतिक कारणबाट स्वदेश बाट बिस्थापित भएपनि प्रवासमा विभिन्न सामाजिक र राजनीतिक अभियानमा निरन्तरता दिदै आएका गौतम नेवि संघ बागलुङका पूर्ब अध्यक्ष,नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक,जनसम्पर्क समिति बेल्जियमका संस्थापक महामन्त्री साथै जनसम्पर्क समिति युरोपका बर्तमान महामन्त्री पनि हुन्।

गौतम एनआरएन बेल्जियमको संस्थापक मध्येका एक हुन्। सन् २००६ मा एनआरएन बेल्जियमको उपाध्यक्ष रहेका गौतम २०१५-१७ कार्यकालको लागि त्यहाँको अध्यक्ष निर्वाचित भएका थिए। बेल्जियममा उनी एनआरएनको संरक्षक र सल्लाहकार समेत भएर काम गरेका छन्।

बेल्जियममा सपरिवार बस्दै आएका उनी विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ मार्फत हुँदै अहिले पनि राजनीतिक गतिविधिमा सक्रिय छन्। युरोपमा स्पष्ठ वक्ताको रुपमा ख्याती कमाएका प्रजातान्त्रिक विचारका गौतम बिद्धार्थीकालमा बिद्धार्थिहरुको हकहितकालागि सक्रिय नेतृत्व गरिसकेका र संगठनमा नेतृत्वको सफल अनुभव हाँसिल गरिसकेका उनले प्रवासमा रहेर सन् २००० मा उनीसहितका प्रजातान्त्रिक विचारका ब्याक्तिहरु मिलेर ‘नेपाली कांग्रेस नेपाल बेल्जियम सम्पर्क समिति’गठन गरे र उनी संस्थापक महामन्त्री भए। २००६ मा उनी नेपाली जनसम्पर्क समिति, बेल्जियमको महामन्त्री र सन् २००७ मा युरोपभरिका कांग्रेसजनको भेलापछि गठित नेपाली जनसम्पर्क समन्वय समिति, युरोपको महामन्त्रीको रुपमा हालसम्म कार्यरत छन्। सन् २००८ मा नेपाली जनसम्पर्क समिति, बेल्जियमको सर्वसम्मत सभापति भएका उनी २०१३ सम्म सभापति रहेर काम गरे। यसबाहेक पार्टीले सुम्पिएका हरेक जिम्मेवारीलाई गौतमले इमान्दारीपूर्वक पुरा गर्दै आएका छन्।

राजनीतिक गतिविधिसँगै सामाजिक गतिविधिलाई पनि निरन्तर अघि बढाउँदै आएका गौतम हाल एनआरएनको केन्द्रीय सचिव छन्। यसका साथै उनी एनआरएनको विधान समितिको सदस्य सचिव छन्। यसभन्दा पहिले उनी समितिको सह संयोजक थिए। सहमति र एकतालाई सधैं जोड दिने गौतमले पछिल्लो समय एनआरएनमा देखिएको आन्तरिक बेमेलको अवस्थालाई समाधान गर्न तत्कालीन शेष घले समूहका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

दशौँ महाधिवेशनलाई त्रुटीपूर्ण महाधिवेशन भन्दै आइरहेका उनले पहिलो बैठकमा नै एकताको महाधिवेशन हुनुपर्ने प्रस्ताव राखेका थिए। जसलाई अहिले सम्बोधन गरेर सहमति कायम भएको छ।

गौतमका प्रतिबद्धताहरु ।
१. एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूलमन्त्रलाई साकार पार्न संघले स्थापना कालदेखि उठाएको मुद्दा वंसजको आधारमा प्राप्त नागरिकताको निरन्तरताका लागी राजनैतिक दलहरु र सरकार संघ राजनैतिक सम्वाद मार्फत कार्यान्वय गरिनेछ ।
२. गैरआवासीय नेपाली संघलाई संस्थागत गर्दै संस्थामा नयां पुस्ता र प्रविधिलाई एकै साथ अगाडी बढाइने छ र प्रविधिमैत्री एनआरएनए बनाइनेछ ।
३. संघलाई महिला, युबा, दोस्रो पुस्ता र श्रमिक मैत्री बनाउदै अभियानमा सबैलाई जोड्ने, सहभागिताको सुनिश्चितता गर्ने, नेपाली कला संस्कृती, सस्कार र परम्परालाई आम नेपाली डायस्पोरामा व्यापकीकरण गर्ने गरिनेछ ।
४. गैरआबासीय नेपाली संघको स्थापना कालदेखि हालसम्मका संघले सन्चालन गरेका सबै परियोजना र गतिविधिहरुको पारदर्शी रुपमा आर्थिक अडिटको सुरुवात गर्दै सचिबालय सन्चालन तथा कर्मचारी ब्यबस्थापन भएको अनावश्यक आर्थिक चलखेल र आर्थिक अनियमितलाई पारदर्शी रुपमा सार्बजनिक गर्ने अनावश्यक कर्मचारी कटौती गरिने छ ।
५. राष्ट्रिय समन्वय परिषदहरुलाई थप स्वायत्त बनाइने छ । सदस्यता वितरण प्रकृयालाई थप वैज्ञानिक बनाइनेछ ।
६. संघका नियमित मुद्दाहरु नेपालमा लगानी, डलर एकाउण्ट, नागरिकताको निरन्तरता लगायत मेघाप्राजेक्टहरुलाई निश्कर्शमा पुराइने छ ।
७. संघको १२ औं महाधिवेसनमा विश्वभर पंन्जिकृत सदस्यहरुको शुल्क निशुल्क बनाइने र अन्तराष्ट्रिय परिषदको निर्वाचन पंन्जिकृत सदस्यहरुबाट गर्ने विधानमा संशोधन गरि आवश्यक प्रबन्ध गरिनेछ।

एनआरएनलाई रुपान्तरण गर्न, यसलाई अभियान मात्र भनिएको छ, तर संस्थागत रुपमा रुपान्तरण गर्न र लोकतान्त्रिक प्रक्रियाको थालनी गर्न मैले महासचिव पदको लागि उम्मेदवारी दिने निर्णय गरेको हुँ भन्दै गौतमले संस्थाको संचालन र कार्यविधिलाई समेत लोकतान्त्रिक विधि र प्रक्रिया अन्तर्गत संचालन गर्दै रुपान्तरण गर्न आफुले उम्मेदवारी दिने गौतमले घोषणा गर्दै ,सदस्यता निर्वाचनमुखी नगरी खुला गर्नुपर्ने, त्यसमा पनि पंजीकृत सदस्य नि:शुल्क हुनुपर्ने लगायतका एजेण्डा कार्यान्वयनको लागि आफ्नो उम्मेदवारी महासचिवका लागि नै भएको उनको भनाई छ।

आफ्नो कार्ययोजनाका बारे प्रकाश पार्दै गौतमले भने ‘अधिवेशन भन्दा ६ महिना पहिले नै मताधिकार हुने गरी सदस्यहरुको टुंगो लगाउनु पर्छ। जसले गर्दा निर्वाचनमुखी सदस्यता अभिवृद्धिलाई रोक्न सकिन्छ। संस्थागत जिम्मेवारीमा महासचिवको बढी नै जिम्मेवारी हुने हुनाले एनआरएनको सदस्यता सधैं खुला रहनुपर्छ, तर ६ महिना पहिलेसम्म सदस्य बनेकालाई मात्र आसन्न अधिवेशनमा मताधिकार दिनुपर्छ भन्दै आइसीसीको मेरुदण्ड मान्ने एनसीसीलाई आइसीसीले सहयोग गर्नुपर्ने, एनसीसीहरुलाई हस्तक्षेप होइन, स्वायत्त छाड्नुपर्ने, विधानको कार्यान्वयन पक्ष फितलो भएकोले दृढतापूर्वक विधानको कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने हुँदा आफ्नो उम्मेदवारी रहेको ब्यक्त गर्दै एनआरएनले निरन्तर रुपमा उठाउँदै आएको एकपटकको नेपाली सधैंको नेपाली भन्ने राजनीतिक मुद्दालाई हल गर्ने प्रयाससमेत आफुले गर्ने र नेपालका सबै राजनीतिक दलका नेताहरुलाई यसका बारे प्रष्ट र निर्धक्क बुझाउन सक्ने र राजनीतिक संवादमार्फत नै हाम्रो माग पुरा गर्न सक्ने क्षमता आफुले राख्न सक्ने हुँदा आफ्नो उम्मेदवारी रहेको र सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई सहयोग र सुझावको अपेक्षा गरेको गौतमले बताएका छन् |

Share